• Sunday 18th of October 2026

कमिसनको लोभमा मासिक १ लाख ८० हजार तिरेर गाडी चढ्दै रास्कोटका मेयर


  • धनकुटा खबर
  • .

कालीकोट : कालीकोटको रास्कोट नगरपालिकाका मेयर धर्मराज शाही कमिशनको लोभमा खरिद गरिएको गाडी प्रयोग गरिरहेको पाइएको छ।

नगरपालिकाको आफ्नै दुई वटा गाडी भएपनि मेयर शाही कमिसनको लोभमा निजी स्कारपियो गाडी भाडामा लिएर चलाइरहेका छन्। नगरप्रमुख शाही सेतो नम्बर प्लेटको सरकारी गाडीभन्दा पनि रातो प्लेटको गाडी चढ्ने गरेको पाइएपछि सोधी खोजी गर्दा मासिक एक लाख ८० हजारमा स्कारपियो गाडी उनले भाडामा लिएर चलाइरहेको पाइएको हो।

नगरपालिकाका लेखापाल वीरबहादुर रावतले मासिक एक लाख ८० हजार रुपैयाँमा पालिकाले भाडामा गाडी लिएर प्रयोग गरिरहेको बताए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बमले गत कात्तिक महिनादेखि भाडाको गाडी चलाइरहेको बताए। यता नगरपालिकाको गाडी भने ग्यारेजमा थन्किएका छन्। भाडाको गाडी चलाउँदा वर्षमा २१ लाख ६० हजार नगरपालिकाको बजेट खर्च भइरहेको लेखापाल रावतको भनाइ छ।

वार्षिक करिब नौ लाखको इन्धन र २१ लाख ६० हजार गाडीको भाडा गरेर न्यूनतम वार्षिक रूपमा रास्कोट नगरपालिकाले ३० लाख ६० हजार नगरपालिकाले भुक्तानी गर्दै आएको उनले बताए। नगरप्रमुख शाहीलाई यस विषयमा बुझ्दा नगरपालिकाका पुराना गाडि बिग्रिएपछि नयाँ गाडि भाडामा लिएको बताए। उनले गाडि भाडामा लग्यो भनेर विरोध गर्नेहरुको संस्कार नभएको बताए।

कमिसनका लागि गाडी भाडामा
रास्कोट नगरपालिकामा कार्यरत एक कर्मचारीले सरकारी गाडी बनाउन छोडेर भाडामा लिनुमा कमिसनको चक्कर भएको बताए। नाम नखुलाउने सर्तमा उनले भने, ‘नगर प्रमुख धर्मराज शाहीकै आफ्नै नातेदारको गाडी भाडामा लिएर कमिसन लिने गरी भाडामा लिएको हो।’

स्थानीय बसराज बमले राज्यको करबाट खरिद गरिएको गाडी थन्काएर भाडाको गाडी चलाउनुको पछाडि कमिसनकै चक्कर भएको बताए। उनले तत्काल सम्झौता खारेज गरी नगरकै गाडी चलाउनु पर्ने र वार्षिक ३० लाख बढी खर्च गर्न नहुने बताए। नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖