• Sunday 18th of October 2026

पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं। महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो।

महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गरी भोलि बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला-तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ।

पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाई भव्यरुपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभित्रको सुरक्षालगयात धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको हो।

पशुपतिनाथ क्षेत्रमा तोकिएका चारकिल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्णरुपमा रोक लगाउने निर्णय गरिएको विकास कोषले जनाएको छ।

सो पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिँदैछ। मन्दिर आसपासका क्षेत्रमा फूल र बत्तीको सजावट सुरु भएको छ। पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा सजावटको काम सुरु भएको जनाएको छ । मन्दिर आसपासका क्षेत्रमा सरसफाइदेखि फूल तथा विभिन्न रङले सिङ्गार्ने कामसम्म सुरु गरिएको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए।

कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको बताए। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजाआराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ। कोषले यस वर्ष कसैलाई पनि विशेष पासको व्यवस्था नगरिएको पनि जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖