• Saturday 17th of October 2026

बेचिसकेपछि चुलियो अलैंचीको भाउ, किसानभन्दा व्यापारीलाई बढी लाभ


  • धनकुटा खबर
  • .

पाँचथर । सिजन सकिएपछि अलैंचीको मूल्य बढेको छ । किसानले आफ्नो उत्पादन भदौदेखि माघसम्म नै बेचिसकेपछि फागुनयताको बढेको अलैंचीको भाउको लाभ व्यापारीले मात्र पाउने भएका छन् । झापाको बिर्तामोडमा मंगलबार प्रतिमन ८३ हजार र पाँचथरमा ८२ हजार रुपैयाँमा अलैंचीको कारोबार भयो ।

पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानी स्रोत अलैंची यसपालि सिजनकै सुरुवातदेखि मूल्यवृद्धि भइरहेको थियो । त्यसअघि गत पुसमा ८० हजार पुगेको भाउ ७४ हजारसम्म घटेपनि फागुन दोस्रो सातायतादेखि फेरि बढ्न थालेको हो ।

कोशीका पहाडी जिल्लामा पुग्ने अलैंची बिर्तामोडमा उत्कृष्ट गुणस्तरको ८३ हजार, मध्यम ८२ हजार र सामान्य ८१ हजारमा किनबेच भइरहेको छ भने फिदिममा उत्कृष्ट ८२ हजार, मध्यम ८१ हजार र सामान्य ८० हजारमा कारोबार भइरहेको छ। सुरुवातमा ५० हजारहाराहारी भएको अलैंचीको मूल्य फागुन लागेपछि बढेको हो।

“फागुन लागेपछि बढेको मूल्यको लाभ हामीले पाउँदैनौं,” फालेलुङ–८ का किसान याम कुरुम्बाङले भने, “किनकि हामीले भदौदेखि माघसम्मै बेचिसक्छौं।” अलैंची व्यवसायीले भने यस्ता नगदेबालीको मूल्य अन्तर्राष्ट्रिय बजारबाटै निर्धारण हुने बताए।

“भारत, बंगलादेशसहितका बजारमा माग बढे मूल्य बढ्छ र घट्दा मूल्य पनि घट्छ,” नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपालले भने, “पछिल्लो समय भारत र भुटानमा ठूलो दाना भएको अलैंची उत्पादन बढेकाले नेपालीले भाउ पाउँदैन।”

पहाडी क्षेत्रमा उत्पादित अलैंचीको मुख्य बजार भारत नै हो। नेपालबाट उत्पादित अलैंची बिर्तामोडहुँदै भारत पुग्छ र भारतले तेस्रो मुलुकमा निर्यात गर्छ। विभिन्न उद्योगमा प्रयोग हुने अलैंचीको स्वदेशमा पनि मसला, सुगन्धित तेल र आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ।

विश्वभर १७ हजार टन उत्पादन हुने अलैंचीमध्ये नेपालमा मात्र ७ हजार टन फल्ने गरेको छ। अलैंचीलाई गुणस्तरअनुसार उत्कृष्ट, मध्यम र सामान्यमा विभाजन गरिन्छ। मूल्य पनि गुणस्तरअनुसारकै हुन्छ।

“किसानले उत्पादन गरेको अलैंची उनीहरूले मूल्य तोक्न पाउँदैनन्, व्यापारीले जति भन्यो त्यतिमै बिक्री गर्नुपर्छ,” किसान महासंघका पूर्वअध्यक्ष गणेश पोखरेलले गुनासो गरे, “अलैंची जस्तै अन्य नगदेबालीको पनि न्यूनतम समर्थन मूल्य नतोकिँदा किसानलाई मर्का परिरहेको छ।”

अलैंचीको उत्पादन भदौ दोस्रो सातादेखि सुरु भएर मंसिर पहिलो साता भित्रै सक्रिन्छ। फागुनयता आउने समय अलैंचीको “अफ सिजन” मानिन्छ। यही समयमा अलैंचीको भाउ बढेपनि लाभ किसानलाई हुँदैन, व्यापारीलाई मात्र हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖