• Tuesday 20th of October 2026

विद्यार्थीलाई राष्ट्रिय परिचय वितरण गर्नेबारे आफ्ना मन्त्रीसँग रास्वपाको छलफल


  • धनकुटा खबर
  • .

१८ चैत, काठमाडौं । विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग छलफल गरेको छ ।

पार्टी र रास्वपाबाट मन्त्री बनेकाहरुको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो ।

‘विद्यार्थीहरुलाई पनि राष्ट्रिय परिचय पत्र बाँड्ने तयारी गर्ने बारेमा छलफल भएको छ,’ रास्वापाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने,’विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र दिएपछि यथार्थ विद्यार्थी संख्या देखिन्छ ।’

विद्यार्थीको संख्या यथार्थमा आधारित नभई बाहिर आएको बारेमा पनि बैठकमा कुरा उठेको थियो । विद्यार्थी संख्या धेरै देखाएर अनियमितता हुने गरेको आशंका बैठकमा व्यक्त भएका थिए । ‘राष्ट्रिय परिचय पत्र दिएपछि विद्यार्थीको यकिन संख्या आउँछ । अनियमितता भएको छ भने रोकिन्छ,’ ढकालले भने ।

विद्यार्थीलाई परिचय पत्र विरतणका लागि गृह र शिक्षा मन्त्रालयले समन्वय गरेर तयारी गर्ने गरी छलफल भएको ढकालले बताए ।

बैठकमा श्रम मन्त्री डीपी अर्यालले श्रम स्विकृति एक घण्टाभित्र वितरण हुने गरी व्यवस्था मिलाइएको जानकारी गराएका थिए ।

वैदेशिक रोजगार विभागले तीन शिफ्टमा प्रदान गर्ने व्यवस्था गरेको छ । विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राती ९ बजेदेखि बिहान ४ बजेसम्मको ३ सिˆट कायम गरेर सेवा थालिएको हो ।

रास्वपाले प्रत्येक आइतबार विहान आफ्ना चार मन्त्रीसँग छलफल गर्दै आएको छ ।आजको छलफलमा पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछाने, शिक्षामन्त्री सुमना श्रेष्ठ, श्रम मन्त्री डीपी अर्याल उपस्थित थिए ।

खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ भने आइतबारको बैठकमा उपस्थित हुन नसकेको बताइएको छ । चार मन्त्रीसँगको छलफलमा पार्टीबाट उपसभापति स्वणिर्म वाग्ले, महामन्त्री ढकाल र नेता शिशिर खनाल सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖