काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरेका छन् । पछिल्लो समय साम्पाङले रास्वपाको निरन्तर आलोचना गर्दै आएका छन् ।
यद्यपि आइतबार मन्त्रालयमा भएको भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ । गृहमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण गरिनुपर्ने धारणा राख्दै सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधन पनि हुनुपर्ने माग राखेका थिए ।
यस्तै कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको भेटका क्रममा साम्पाङले गुनासो गरेका थिए ।
जवाफमा लामिछानेले लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने बताउँदै माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
यस्तै साम्पाङले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई सुझाव दिएका थिए । सो क्रममा लामिछानेले प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने सङ्गठन बनाउने प्रतिबद्धता जनाएका थिए ।
गृहमन्त्री र प्रमुख साम्पाङबिच लागू औषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको सचिवालयले जनाएको छ।
सो क्रममा लामिछानेले प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिबद्धता समेत जनाएका थिए ।
