• Tuesday 20th of October 2026

सूदूरका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आफूनिकट ५ मन्त्रीलाई रेशमको निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौं,२१ चैत । आवश्यक मतको जुगाड नहुँदै विश्वासको मत लिन लागेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीले निर्देशन दिएका छन् ।

हिजो आफ्नो निवास बर्दियामा सुदूरपश्चिमका पाँच मन्त्रीलाई बोलाएर चौधरीले यस्तो निर्देशन दिएका हुन् । भोली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै छन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, प्रमुख सचेतक समेत रहेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा चौधरी रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए । हिजो राति चौधरीले उनीहरूलाई कांग्रेस नेतृत्वकै सरकारमा रहन र विश्वासको मत दिन भनेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा रहेका नाउपाका ७ सांसदमध्ये ५ सांसद अहिले कांग्रेस नेतृत्वको सरकारमा छन्। रञ्जितानिकट दुई सांसद सरकार बाहिर छन्।

२१ फागुनमा सत्ता समिकरण फेरबदलसंगै निर्वाचन आयोयले अध्यक्षमा रेशमलाई नमानेर रञ्जितालाई फर्काइदिएपछि गठबन्धनका विषयमा नाउपाभित्र रेशम र रञ्जिताबीच तीव्र मतभेद छ।

रञ्जिता नयाँ सत्ता गठबन्धनलाई सघाउने पक्षमा छिन्। कांग्रेसलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई रञ्जिताले दिएको लिखित निर्देशन कार्यान्वयन नै भएको छैन।

रेशम कांग्रेससंग सहकार्य गरेर अघि बढ्ने पक्षमा छन्। श्रीमान् श्रीमती समेत रहेका रेशम र रञ्जिताको विवादले नाउपा फुटको डिलमा पुगेको छ।

सत्ता गठबन्धन फेरबदल भएपछि तत्कालीन सत्ता घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २३ फागुनमा समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदैछन्।

यसैबीच तीव्र मतभेदले पार्टी विभाजको डीलमा पुगेका बेला नाउपाले प्रदेश संसदीय दलको बैठक डाकेको छ । सुदूर सरकारलाई विश्वासको मत दिनेबारे निर्णय गर्न बिहान ११ बजे टीकापुरमा प्रदेश संसदीय दलको बैठक बस्न लागेको हो । सो बैठकले नाउपाको आगामी भविष्यसमेत निर्धारण गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖