• Monday 5th of October 2026

शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए नेम्वाङ – डाक्टरले अस्पताल जानुपर्दैन घरमै आराम गर्दा हुन्छ भनेका थिए


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधन भएको हो । हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका साथै एमाले नेताहरू अस्पतालमा छन् ।सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

आइतबार धरान पुगेर फर्किएका नेम्वाङ सोमबार दिनभर घरमै आराम गरेर बसेका थिए। सोमबार बिहानैदेखि ज्वरो आएको थियो। घरमै आएका डाक्टरले हिजो साँझ पनि नेम्वाङको स्वास्थ्य परीक्षण गरेका थिए। त्यतिबेला उनलाई १०२ डिग्री ज्वरो आएको थियो।

डाक्टरले स्वास्थ्य परीक्षण गरेपछि अस्पताल जानुपर्दैन घरमै आराम गर्दा हुन्छ भनेकाले नेम्वाङले आराम गरेका थिए। बेलुका सुप खाएर सुतेका नेम्वाङ राति १ बजेतिर घरको शौचालयमा बेहोस भेटिएपछि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो।

NEPAL BANK POST ADD
सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए ।अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।

हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भोलिमात्रै अन्तिम सं‌स्कार गरिने भएको छ ।उनका दुवै छोरा विदेशमा रहेका र उनीहरू आएपछि मात्रै अन्तिम संस्कार हुने परिवारजनले बताएका छन् ।

दिवंगत नेम्वाङका भाइ सुरेश नेम्वाङका अनुसार जेठो छोरा मिङ्सो नेम्बाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने छन् ।

दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिने उनले बताए । त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖