• Tuesday 20th of October 2026

नवप्रवर्तनमा आधारित पाठ्यक्रम आवश्यक : प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

२३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम आवश्यक रहेको बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको १४औं सभा बैठकमा बोल्दै प्रचण्डले पाठ्यक्रम पुनर्संरचना र भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन् ।

विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलाप पूर्व निर्धारित शैक्षिक पात्रोअनुसार सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने र निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारको सहयोग रहन्छ ।’

उनले क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई परिमार्जन गर्न सुझाव दिए ।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका विभिन्न प्रयोगशालाबाट उत्पादित वस्तु, सेवा र सूचनाको बजारीकरण तथा बिक्री वितरणमा आवश्यक पर्ने राष्ट्रिय नीति तथा कानुन निर्माणमा सरकारको पूर्ण सहयोग रहेको बताए ।

प्रचण्डले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्दै देशको समृद्धिमा टेवा पुर्‍याउन मध्यपश्चिम विश्वविद्यालयले थप सकारात्मक भूमिका खेल्नुपर्ने पनि बताए ।

उनले कृषि तथा वन विज्ञानका क्षेत्रमा कर्णाली र समग्र नेपालकै भौगोलिक, सामाजिक एवं आर्थिक अवस्थालाई ख्याल गर्दै जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिमा आधारित शैक्षिक, व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले भने, ‘आधुनिक र रैथाने कृषि प्रणाली, ज्ञान–सीपको संयोजन गरी विभिन्न कार्यक्रम र परियोजनाहरू सञ्चालनमा ल्याउने पहल गर्नुहोस् ।’

प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक विविधता र प्राकृतिक स्रोत–साधनले सम्पन्न तर भौतिक पूर्वाधार विकास, औद्योगिकीकरण तथा मानव विकासका सूचकाङ्कमा पछाडि परेको कर्णाली क्षेत्रमा स्थापित मध्यपश्चिम विश्वविद्यालयले प्राज्ञिक उन्नयन, भौतिक विकास, सूचना प्रविधि सहितको कार्यप्रणाली विकासमा गरेको योगदान महत्त्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖