इलाम । इलामस्थित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई आउँदो उपनिर्वाचनमा विजयी गराउने प्रतिबद्धता गरेका छन् ।
आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका साझा उम्मेदवार सुहाङ नेम्बाङलाई जिताउने एमाले–माओवादी लिखित प्रतिबद्धताले उत्साही भएको दुवै दलका नेता–कार्यकर्ताको भनाइ छ।
एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र माओवादी जिल्ला संयोजक विजय खम्बूले सुहाङलाई ‘अत्यधिक बहुमतका साथ जिताउन’ जिल्लाका सबै नेता–कार्यकर्तालाई लिखित अपिल गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच इलाम क्षेत्र २ को उपनिर्वाचनमा एमाले उम्मेदवारलाई दुवै दलले जिताउने सहमति भएको थियो ।
यसअघि माओवादी जिल्ला कमिटीले केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणलाई उम्मेदवारका लागि सिफारिस गरेको भएपनि उनले उम्मेदवारी नदिने र एमाले उम्मेदवारलाई सहयोग गर्ने केन्द्रमा सहमति भएको छ ।
एमाले अध्यक्ष बस्नेतले साझा उम्मेदवार सुहाङलाई जिताउने दुुवै दलको प्रतिबद्धताले पार्टी संगठन उत्साही भएको बताए ।
‘अब हाम्रो जित सुनिश्चित भएको छ, सबै दल एकातिर र एमाले एक्लै एकातिर भएको क्षेत्रमा अहिले दुुई दल सँगै हुँदा जितका लागि मत सुनिश्चित भएको छ,’ उनले भने, ‘अझै हामी दुुवै दल हाम्रा उम्मेदवार जिताउन संयुक्त रूपमा टोल–टोल पुग्दैछौं ।’
माओवादी जिल्ला संयोजक खम्बूले पनि साझा उम्मेदवार सुहाङलाई जिताउन माओवादी प्रतिबद्ध रहेको बताए । ‘पार्टी केन्द्रबाट जे निर्देशन आएको छ, इलामस्थित माओवादीले इमान्दारीसाथ पालना गर्नेछ,’ उनले भने, ‘उम्मेदवार साझा भइसकेपछि उनलाई जिताउनु हाम्रो जिम्मेवारी हो ।’
०७९ को निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनका कांग्रेस, माओवादी, नेकपा ९एकीकृत समाजवादी०लगायत दलको गठबन्धन थियो । एक्लै प्रतिस्पर्धा गरेको एमालेले गठबन्धनका उम्मेदवारलाई हराएको थियो ।
त्यो निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए । रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए ।
समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए ।
उपनिर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।
