• Wednesday 21st of October 2026

पूर्वमन्त्री महेश बस्नेतविरुद्ध जाहेरी दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो ।

नेकपा (एमाले)मा सङ्गठित ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । उनले भने–‘जाहेरी दर्ता गरेका छौँ ।’

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

बलात्कार र भ्रूण हत्याको प्रमाण लुकाउन बस्नेतकाे निर्देशनमा आफ्नो अपार्टमेन्टमा २०८० फागुन ८ मा बिहान डाँका चोरी गरिएको पनि पीडितको दाबी छ । उनले जाहेरीमा लेखेकी छन्– ‘बस्नेतको निर्देशनमा दुई जना युवाहरूले मेरो अपार्टमेन्टमा आएर मलाई कुटपिट समेत गरेर मोबाइल र अन्य इलेक्ट्रिक डिभाइस जबरजस्ती लिएर गएका हुन् ।’

बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्‌मा उद्योगमन्त्री थिए । पीडितले जाहेरीमा दाबी गरेअनुसार प्रहरीले प्रमाण सङ्कलन गरिरहेको छ । जाहेरी दर्ता भएसँगै राष्ट्रिय युवा संघको संयोजक समेत रहेका बस्नेतलाई प्रहरीले सोधपुछ गरेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘उहाँसँग हामीले त्यसबारे सोधपुछ गरेका छौँ ।’

प्रहरीले पीडितकाे दाबीलाई भेरिफाई गरिरहेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘मुद्दा अगाडी बढाउने आधार खोज्दै छौँ ।’ पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖