• Wednesday 21st of October 2026

आज निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारीमा राप्रपा, यस्तो छ तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने भएको छ । यसअघि चैत १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रित आन्दोलन एसईई परिक्षाका कारण आजका लागि सारेको थियो ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको राप्रपाले झण्डै डेढ महिनापछि काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागेको हो । सरकारसमक्ष पेस गरेको मागपत्रमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्नेलगायत विषयमा सरकार गम्भिर नदेखिएकाले आन्दोलनको बाटो रोज्नु परेको राप्रपाले जनाएको छ ।

आज काठमाडौंको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारीमा रहेको राप्रपाले जनजीविकासँग सम्बन्धित मागमा सरकार गम्भिर नदेखिएकाले जनदबाब बढाउन सडकमा आउनु परेको जनाएको छ । आन्दोलनमा सहभागी हुन देशका विभिन्न स्थानबाट समेत कार्यकर्ता राजधानी भित्र्याएको राप्रपाले अहिले विहान साढे ११ बजे भृकृटीमण्डपमा सभाको तयारी गरेको छ ।

राप्रपाले कम्तीमा ५० हजार मानिसहरू काठमाडौंका सडकमा उतार्ने तयारी गरेको छ । राप्रपाले यसअघि काठमाडौं केन्द्रित जनप्रदर्शनको पूर्वसन्ध्यामा सोमबार भृकुटीमण्डपमा शंखध्वनि जुलुस गरेको थियो। सनातन हिन्दू अधिराज्यको पुनःस्थापना, भ्रष्टाचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाको विरुद्धमा राप्रपाले १०८ शंखध्वनिसहित जुलुस गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖