• Monday 5th of October 2026

किन भयो वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव ?


  • धनकुटा खबर
  • .

काठमाडौं । पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ । आज बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता कायम राखिएको छ ।

गएराति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवादका कारण तनाव भएको थियो । उनीहरुबीच तनाव बढेपछि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि झन् आक्रोशमा आएकाहरुले बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी कुमार विक्रम थापाले आज बिहानको अवस्था सामान्य रहेको बताए । यद्यपि अहिले पनि बाल सुधार गृह बाहिर प्रहरी खटाइएको उनले जानकारी दिए ।

‘उनीहरुबीच राति आपसमा विवाद भएको थाहा पाएपछि हामीले रोक्न खोज्यौं, त्यहीक्रममा प्रहरीमाथि ढुंगा-इँटा प्रहार भएको थियो, अहिले भने अवस्था सामान्य छ,’ डीएसपी थापाले भने, ‘अहिले पनि प्रहरीहरु गेट बाहिर तैनाथ छन् ।’

बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको छ ।

यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖