• Thursday 22nd of October 2026

सञ्चालकको सम्पत्ति जफत गरी सहकारी पीडितको रकम फिर्ता गराउँछौं : रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितको रकम फिर्ता गराएरै छोड्ने प्रतिवद्धता गरेका छन् ।

चुनावी प्रचारका लागि इलाममा रहेका गृहमन्त्री लामिछानेले सदन बस्न नसक्ने अवस्था भए अध्यादेशमार्फत भए पनि कानुन बनाएर पैसा फिर्ता गरिने बताए ।

सहकारी सञ्चालकको सम्पत्ति जफत गरेर पीडितको रकम फिर्ता गरिने उनले बताए । ‘चाँडै नीति ल्याएर कानुनमा आवश्यक संशोधन गरेर सहकारी ठगी गरेर भागेकाहरूको सम्पत्ति रोक्का गरेर तिनको सबै सम्पत्ति बेचेर भए पनि सानासाना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरिनेछ,’ लामिछानेले भने, ‘घोषणा यहींबाट गर्न चाहन्छु । प्रधानमन्त्रीसँग कुराकानी गरेर भनेको छु ।’

कानुनले अप्ठ्यारो परेकाले सहकारीको सम्पत्ति जफत गर्न कठिनाइ भएको उनले सुनाए । कानुन निर्माण गरी सञ्चालकको सम्पत्ति भए, नभएको खोज्ने उनले बताए ।

‘भान्जाका नाममा, सालीका नाममा, देश, विदेशमा कसको नाममा राखेको छ । सम्पत्ति शुद्धीकरण विभागले त्यसलाई खोज्नेछ । तिनको सम्पत्ति जफत गरेर सहकारीमा जम्मा गर्नेहरूको रकम फिर्ता नगरी राजनीतिबाट विश्राम लिन्नँ,’ लामिछानेले भने ।

आफ्नो बारेमा तथ्यहीन आरोप विपक्षीले लगाइरहेको बताए । ‘राज्यका सम्पूर्ण शक्ति लगाएर छानबिन गरेको होइन र ? नसकेपछि मिडिया चलाएको होइन र ?,’ लामिछानेले भने, ‘प्रमाण पुग्दा आफ्नै दलको नेता बालकृष्ण खाणलाई समात्नेले मलाई दया माया गरेर छोडेका होलान् र ? केही भेटिए पो थुन्नु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖