• Thursday 22nd of October 2026

‘अर्को महिना ठुलो अपराधी पक्रेर सर्प्राइज दिन्छु’ :गृहमन्त्री रवि लामिछाने


  • धनकुटा खबर
  • .

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरूले बदनाम गर्न विभिन्न ढङ्गले हिलो छ्यापेको बताएका छन् ।

इलाम उपनिर्वाचनको पूर्वसन्ध्यामा रास्वपाले इलामको देउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘कहिले हामीमाथि सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाइहरूले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन् ।’

०८४ को निर्वाचनसम्म आफूहरूलाई पुराना शक्तिहरूले थिलथिलो बनाउने बताउँदै उनले भने, ‘०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नु होला । जनताको पक्षमा काम गर्नेहरूलाई झूटा मुद्दा लाग्छन्, उनीहरूको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाइहरू त्यसले आत्तिनु पर्दैन ।’

नेपाली कांग्रेसले सहकारीको मुद्दा उठाएकोबारे कुरा गर्दै उनले राजनीतिक षडयन्त्रमा आफूलाई फसाइएको बताए । त्यसैको फलस्वरुप आफ्नो पुत्लासमेत जलाइएको उनको कुरा थियो । उनले भने, ‘अहिले धेरै ठाउँमा मेरो पुत्ला जलाउन थालिएको छ, मैले पुत्ला जलाउने साथीहरूलाई अलिक राम्रो फोटो राखेर पुत्ला बनाउनु भनेको छु ।’

उपप्रधानमन्त्री लामिछानेले भने, ‘के मैले काँग्रेसले भनेर राजीनामा दिनुपर्ने । काँग्रेस, जो नेपाली जनतालाई नक्कली भुटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रीय नेताबाट निकाल्न सक्दैन । अनि उसले भनेर मैले राजीनामा दिने ? मेरो पार्टीमा त इतिहास छ । प्रमाणित भएको पनि होइन । त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म । हेक्का रहोस् । म भ्रष्टहरूलाई वरपर लिएर बसेर फ्रन्ट रोमा बसेर अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन । हाम्रो पार्टीमा त्यस्तो चल्दैन ।

यसका साथै उनले जनताबाट प्रत्येक दिन भ्रष्टाचारीलाई पक्रने दबाब भए पनि प्रत्येक दिन धेरै मानिस पक्राउ गर्न नसकिने बताए । ‘मैले प्रत्येक महिनामा ठुलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु तर तपाइहरू प्रत्येक दिन भ्रष्टाचारीलाई थुन्नु पर्‍यो भन्नु हुन्छ । तपाइहरू धेरै आत्तिनु हुँदैन । तपाइहरू अर्को महिना सर्प्रा‍इज कुरेर बस्नु होला आउँदैछ ।’

सरकारले अर्को महिना कसलाई पक्रन लागेको र उनीमाथि के आरोप छ भन्नेबारे गृहमन्त्री लामिछानेले केही पनि खुलाएनन् । तर उनले ठुलै सर्प्राइज आउने बताए । उनले आफूहरू देश बनाउने अभियानमा आएको बताउँदै व्यक्तिगत रूपमा त्यसले कसैलाई फाइदा नगरे पनि देशका लागि फाइदाजनक भएको बताए । कार्यक्रममा रास्वपा उपसभापति तथा तनहुँका सांसद स्वर्णिम वाग्ले, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖