• Thursday 22nd of October 2026

इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द


  • धनकुटा खबर
  • .

इलाम । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तीव्रता दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो ।

बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ ।

सञ्चारकर्मीहरूका हकमा आफू कार्यरत सञ्चारमाध्यमको सिफारिस, सञ्चारमाध्यमको परिचय पत्र, सवारी साधनको ब्लु बुक र लाइसेन्सको फोटोकपी पेस गरेमा पास उपलब्ध गराइने निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदानको गोपनीयता भङ्ग नहुनेगरी फोटो, भिडियो लिन सकिने व्यवस्था गरिएको छ ।

एक सय ४९ मतदान केन्द्रमा खटिने अधिकृत र सहायक अधिकृत गरी तीन सय सात जनालाई सक्रिय गराएको सर्वदलीय बैठकमा जानकारी गराइयो ।

कर्मचारीलाई मतदान केन्द्रमा पुगेपछि कसरी मतदानस्थल निर्माण गर्ने, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिको मतदान कसरी व्यवस्थापन गर्ने, मतपेटिका निर्माण, मतपेटिका देखिनेगरी कसरी राख्ने, मतदान सम्पन्न भएपछि तयार पारिने मुचुल्का, मतपोटिका बन्दलगायत विषयमा कर्मचारीहरूलाई तालिम दिइसकेको पनि जानकारी दिइयो ।

इलाम २ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र छन् । यो क्षेत्रमा इलाम नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिका गरी छ स्थानीय तहका ४२ वटा वडा छन् । यो क्षेत्रमा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष र अन्य दुई गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖