• Thursday 22nd of October 2026

बागलुङ कालिका मन्दिरमा चैते दसैंमा ४० लाख भेटी संकलन


  • धनकुटा खबर
  • .

बागलुङ। गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैंको अवसरमा रु ४० लाख भेटी संकलन भएको छ। कालिका मन्दिरमा बडादसैं र चैते दसैंमा सबैभन्दा बढी भेटी संकलन हुँदै आएको छ।

कालिका मन्दिरमा यस पटकको चैते दसैं (नवरात्री)को अवसरमा रु ४० लाख ७२ हजार पाँच सय ५८ भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

खड्काका अनुसार गत वर्षको चैते दसैंको अवसरमा संकलित भेटीको तुलनामा यस पटक रु ११ लाख कम भेटी संकलन भएको छ। गत वर्षको चैते दसैंको अवसरमा रु ५१ लाख भेटी संकलन भएको थियो।

नवरात्र सुरु भएपछि चैते दसैं अवधिभर पाँच लाखभन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेका थिए। उनीहरुले चढाएको भेटी, नगद सहयोग, बलि लगायतबाट उक्त रकम भेटी चढाएका छन्।

चैते दसैंको अवसरमा कालिका भगवती मन्दिरमा यस पटक बलिको सङ्ख्या घटेकाले अघिल्लो चैते दसैंको तुलनामा रु ११ लाख कम भेटी संकलन भएको खड्काको भनाइ छ।

“यस पटकको चैते दसैंमा दर्शनार्थी बढेको तर बलि घटेको पाइएको छ, बलि घट्नासाथ भेटीमा कमी आएको हो, तर धार्मिक पर्यटकको सङ्ख्या क्रमशः बढ्दै आएको हामीले पाएका छौँ, चैते दसैंमा पाँच लाख भन्दा बढी धार्मिक पर्यटक मन्दिरमा आएका छन्”, खड्काले भने, “चैते दसँैंको नवरात्र अवधिभरमा सबैभन्दा बढी भेटी चैत्राष्टमी (चैते दसैं)को दिनमा रु नौ लाख १८ हजार भेटी संकलन भएको छ।”

मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ। त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ।

परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरसमेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖