• Thursday 22nd of October 2026

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने


  • धनकुटा खबर
  • .

काठमाडौं— इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ। निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ।

इलाम- २ मा इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिदै छ। आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने जनाएको छ। त्यसपछि राति नै मत गणना शुरु हुने छ।

त्यस्तै बझाङको उपनिर्वाचनका मतपेटिका भने आइतबार बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ।

आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन्। त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ।

शनिबार सम्पन्न मतदानमा इलाम-२ मा ६० प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको छ।
यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए।

यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖