• Saturday 24th of October 2026

जनमत पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने


  • धनकुटा खबर
  • .

जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।

जनमत पार्टीकी प्रमुख सचेतक अनीता देवीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको बताइन्।

‘म अहिले जिल्लातिर छु। प्रधानमन्त्रीलाई विश्वासको मत दिने भनेर सूचना आएको छ। बाँकी विषयमा बैठक बसेर निष्कर्षमा पुग्छौं,’ उनले सेतोपाटीसँग भनिन्।

गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन टुटेर नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनेपछि जनमत प्रतिपक्षमा रहँदै आएको थियो।

तर, जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएसँगै जनमतले विश्वासको मत दिन लागेको हो। संघमा जनमत पार्टीका ६ जना सांसद रहेका छन्। जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्वको चाहना राखेको छ। मधेस प्रदेशमा माओवादी केन्द्र र नेकपा (एमाले)ले समर्थन फिर्ता लिइसकेका छन्।

त्यहाँ सरकार गठनका लागि दलहरू छलफलमै छन्।

आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेश गर्दैछन्। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएकाले संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖