• Saturday 24th of October 2026

विश्वासको मतमा विश्व रेकर्ड बनाएँ : प्रचण्ड


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतमा विश्व रेकर्ड कायम गरेको बताएका छन् ।सोमबार प्रतिनिधि सभाको बैठकमा चौथोपटक विश्वासको मत लिएर बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले चौथोपटक पाएको विश्वासको मतले विश्व रेकर्ड बनेको बताएका हुन् ।आवश्यक पर्दा अझै १०/१२ पटक विश्वासको मत लिन सक्ने उनले बताए ।​

प्रधानमन्त्रीज्यू अब कतिपटक लिनु पर्ला विश्वासको मत भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने– ‘नेपालको मात्रै होइन विश्वमै रेकर्ड बनेको छ । जरुरी पर्‍यो भने १०/१२ वटा विश्वासको मत लिन्छु ।’१६ महिनामा प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत पाएका हुन् ।

२०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिँदा प्रचण्डले २७० मध्ये २६८ जनाको समर्थन पाएका थिए । पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले कांग्रेस, एमालेसहितका ठूला दलको समर्थन पाएका थिए ।

एमाले सरकारबाट बाहिरिएपछि २०७९ चैत ६ गते दोस्रोपटक प्रचण्डले विश्वासको मत लिएका थिए । दोस्रोपटक १७२ सांसदको समर्थन प्रधानमन्त्रीले पाएका थिए । दोस्रोपटक एमालेसहितको ८९ मत प्रचण्डको विपक्षमा परेको थियो ।

गत फागुन २१ मा कांग्रेस सरकारबाट बाहिरिने र एमाले भित्रिने भएपछि प्रधानमन्त्रीले गत फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका थिए ।

तेस्रोपटक प्रचण्डले १५७ सांसदको समर्थन पाएका थिए । तेस्रोपटक कांग्रेससहित विपक्षमा ११० मत परेको थियो । जसपा नेपाल विभाजन भएपछि सोमबार नेपाली कांग्रेसको अवरोधका बीच प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा चौथोपटक विश्वासको मतका रुपमा १५७ जना सांसदको समर्थन पाएका हुन् ।

तर कांग्रेसले विश्वासको मत लिने प्रक्रियामा लफडा गरेको भन्दै यसको मूल्य चुकाउनुपर्ने चुनौती पनि दिएका छन् । ‘नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईँहरूलई पटक-पटक साथ दियो । योपटक पनि संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ । तर विश्वासको मत लिन नदिएर तपाईँहरूले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो’, प्रधानमन्त्रीले भने, ‘यसको निम्ति गहिरो दुःख व्यक्त गर्दछु । कांग्रेसको लागि यसको मूल्य चर्को पर्नेछ । कांग्रेसको लागि यो कलंकको रुपमा स्थापित हुनेछ ।’

विश्वासको मत लिएर बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा प्रचण्डले आगामी चुनावमा कांग्रेसलाई चर्को पर्ने चेतावनी दिएका हुन् । ‘कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्ने हो आउँदो चुनावमा देखिन्छ’ सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖