• Saturday 24th of October 2026

गगन थापामाथिको आरोप पुष्टि गर्न नसके गृहमन्त्री रविलाई कारबाही गर्नुपर्छ : भीम रावल


  • धनकुटा खबर
  • .

नेकपा एमालेका नेता भीम रावलले कांग्रेस नेता गगन थापाले राज्यको सूचना बेचेको पुष्टि गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् । आरोप पुष्टि नभए आफैं कारबाही भोग्न तयार रहन पनि उनले सुझाएका छन् ।

राज्यको सूचना बेच्नु देशद्रोह भएको भन्दै पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले थापालाई कारबाही नगरे गृहमन्त्री पनि देशद्रोहीका मतियार ठहर्ने बताएका हुन् ।

‘राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् । यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसद्‌मा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस्’, रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र उनलाई प्रधानमन्त्री प्रचण्डले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ ।’

जिम्मेवार मन्त्रीले आरोप लगाएपछि पुष्टि गर्नुपर्ने नभए आफैं कारबाहीको लागि भागीदार हुनुपर्ने मत रावलको छ ।

‘गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसद्‌मा प्रस्तुत गरेका छन् । ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस्’, रावलले भनेका छन्, ‘यस्ता आरोप झुटा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा उनलाई कानूनी कारबाही होस् । राज्य कानून र मर्यादामा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनताप्रति गद्दारी गरेको ठहर्छ ।’

आइतबार संसद्‌मा बोल्दै लामिछानेले कांग्रेस महामन्त्री गगनले विदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖