नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेताबाट कुनै गैरकानूनी काम भएको भए नाम, थर र गोत्रो किटेरै छानबिन समिति बनाउन आग्रह गरेका छन् । कांग्रेसको कोही नेता भ्रष्टाचारी ठहर भए आफूहरू सती नजाने उनले बताए ।
संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले आफ्नो छानबिन भए कांग्रेसका नेताको पनि छानबिन गर्नुपर्ने भनेर गृहमन्त्री लामिछानेले आफ्नो एकढंगको स्वीकारोक्ति गरिसकेको बताएका हुन् ।
‘कांग्रेसको सभापतिमाथि छानबिन गर्ने हो कि दाइ-भाउजूमाथि छानबिन गर्ने हो गर्नुस् । नाम थर, गोत्र लेख्नुस् । माइती ससुरालीको कुरा लेख्नुस् । औँठामा भएको शंख, चक्र उल्लेख गर्नुस्’, शर्माले भने, ‘कांग्रेसको कोही भ्रष्टाचारी भयो भने हामीहरू कसैको सती जान्नौं ।’
महामन्त्री शर्माले संसदीय छानबिन समिति बनाउने कुरा सहकारी पीडितको पक्षमा संसद् उभिने कि नउभिने प्रश्न रहेको बताए । उनले सहकारी ठगीसम्बन्धी छानबिन समितिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नैपर्ने बताए ।
शर्माले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँधिएको बताए । गृहमन्त्री लामिछानेको दुई वटा पासपोर्टको छानबिन गर्नुपर्ने शर्माले बताए ।
‘दुई वटा पासपोर्टमा छानबिन गर्नुपर्ने किन भएन ? महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संगठन हो कि गृहमन्त्रालयको शाखा हो ? कहिले पासपोर्टमा छानबिन गर्दिनँ भनेको छ । कहिले सहकारीको उजुरी परेको छ । के महान्यायाधिवक्ता संवैधानिक अदालत हो ?’, शर्माले प्रश्न गरे ।
