• Monday 5th of October 2026

ह्नात्तै बढ्यो कुखुराको मासुको मूल्य, किलोमै ३० रुपैयाँ


  • धनकुटा खबर
  • .

काठमाडौं । ठूला चाडपर्व नजिकिएसँगै कुखुराको मासुको मूल्य बढाउन थालिएको छ । जिउँदो कुखुरा बिक्री गर्ने व्यवसायीहरुको संस्था राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले एक साता अवधिमै जिउँदो कुखुराको मूल्य किलोमा २० रुपैयाँले वृद्धि गरेपछि बजारमा त्यसको असर देखिएको छ ।

जिउँदो कुखुराको मासुको मूल्य बढेसँगै ब्रोइलर कुखुराको तयारी मासुको बिक्री गर्ने खुद्रा बिक्रेताहरु मासुको मूल्य किलोमा ३० रुपैयाँले बढाएका छन् ।

२५ भदौमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ बनाएको थियो ।

संघले किलोमा १० रुपैयाँले मूल्य बढाएकै दिन खुद्रा बिक्रेताले प्रतिकिलो १५ रुपैयाँले तयारी मासुको मूल्य बढाएर ३७५ रुपैयाँ पुर्‍याएका थिए । यसअघि तयारी मासुको प्रतिकेजी मूल्य ३६० रूपैयाँ थियो ।

यस्तै २७ भदौमा बिक्री संघले थप १० रुपैयाँले वृद्धि गरेर तयारी कुखुराको कोल्ड स्टोर मूल्य ३६० रुपैयाँबाट बढाएर ३७० रुपैयाँ पुर्‍याएको थियो । सातामै दोस्रो पटक मूल्यवृद्धि पछि बजारमा तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य ३९० रुपैयाँ पुगेको छ । तर, चक्रपथ बाहिर ४१५ रुपैयाँसम्ममा तयारी मासु बिक्री भइरहेको गुनासोहरु आएका छन् ।

बजारमा माग बढेको र उत्पादनमा सीमितता भएका कारण मूल्य स्वभाविक बढेको संघका सचिव देवकुमार गिरीले बताए । उनका अनुसार भारतमा पनि कुखुराको मूल्य बढ्दा चोरी पैठारी घटेको र माग उच्च हुँदा मूल्य बढेको गिरीको दाबी छ । ‘चाडबाडका कारण खपत बढेसँगै बजारमा मासुको माग बढेको छ,’ गिरीले भने, ‘माग बढेसँगै मूल्य बढ्नु स्वभाविक नै भयो ।’

बजारमा प्राथमिक खाद्यान्नको मूल्यमा मनपरी भइरहँदा नियमनकारी निकाय वाणिज्य विभाग भने नेतृत्वविहीन छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागको महानिर्देशक र अनुगमन शाखा प्रमुख हटाउने निर्णय हुने अघिल्लो दिन र हटाइसकेर नयाँ पदस्थापन नहुँदै बजारमा कुखुराको मासुको मूल्य बढेको थियो ।

तत्कालीन महानिर्देशक गजेन्द्र ठाकुर र अनुगमन शाखा प्रमुख होमनाथ भट्टराई २५ भदौमा मन्त्रालय तानिएका थिए । मन्त्रालयले विभागको नयाँ महानिर्देशकमा तिर्थ चिलुवाललाई तोकेको छ, तर उनी अझै विभागमा हाजिर भएका छैनन् ।

निजी क्षेत्र र वाणिज्य विभागले तीन वर्षअघि गरेको अध्ययन अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो तयारी मासुको खपत छ । एक सातामा किलोमा ३० रुपैयाँले मूल्य बढ्दा उपत्यकाका उपभोक्तालाई मात्रै १५ करोड अतिरिक्त भार थपिन्छ ।-नविन ढुंगाना/अनलाइनखबर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖