काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए ।
उनले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेका टिप्पणी गरे । उनले मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन कुन फाइल खोल्नु पर्ने हो खोल्नका लागि चुनौती समेत दिए ।
सांसद बर्ताैलाले भने, ‘केही राजनीतिक पार्टीका मन्त्रीहरू सरकार बहुमतमा भएको बेलामा गोजीमा राजीनामा हालेर हिँड्नुहुन्थ्याे । तर सरकार स्पष्ट अल्पमतमा परेको छ, ती साथीहरूको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ? हामीले सुन्यौं दलबाट निर्णय भयो राजीनामा दिने, सरकारबाट फिर्ता हुने । प्रधानमन्त्रीले कानेखुसीमा गाउँ खाने कथा भनिदिनु भयो । त्यसपछि राजीनामा खुत्रुकेमा जतनसाथ राखेर साथीहरू फर्किनुभएको छ । मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । कुन फाइल कसरी खोल्नुपर्ने हो खाेल्नुहाेला ।’
उनले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको पनि बताए ।
