• Wednesday 28th of October 2026

कांग्रेसले टुंग्यायो दुई मन्त्री, परराष्ट्रमा आरजु


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कांग्रेसले दुई जना मन्त्री टुंगो लगाएको छ।
गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ।

अन्य मन्त्रीको टुंगो सोमबार बिहान ८ बजे लगाउने तयारी छ।
पार्टीले बनाएको मापदण्डअनुसार समावेशी, योग्यता र क्षमताका अधारमा मन्त्री पठाउने भएकोले एक पटक छलफल गरेर मात्रै पठाउने तयारी गरेको हो।

नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रालय बाँडफाँट टुंग्याए पनि मन्त्री छनौट भने गर्न बाँकी छ।

एमाले अध्यक्ष ओली आइतबार नै प्रधानमन्त्री नियुक्त भइसकेका छन्। उनीसँगै सोमबार बिहान ११ बजे मन्त्रीहरूको पनि शपथ ग्रहण गर्ने तयारी छ।

एमालेले अर्थ, रक्षा, भौतिक, पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएको एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति पनि एमालेको भागमा परेको छ। एमालेले मन्त्रीहरू भने टुंग्याउन बाँकी छ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालय पाएको छ। त्यस्तै स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला पनि कांग्रेसले पाएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖