• Wednesday 28th of October 2026

भण्डारीलाई मन्त्री बनाएपछि लोसपा विभाजनको सँघारमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारमा सामेल हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टी विभाजनको सँघारमा पुगेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाएपछि पार्टीभित्र असन्तुष्टि चर्किएको हो । असन्तुष्ट पक्षले पार्टी विभाजनको तयारी गरिरहेको स्रोत बताउँछ ।

स्रोतका अनुसार लोसपाका नेता तथा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले यसको नेतृत्व गरिरहेका छन् । लोसपाका महासचिव मुकेश झाका अनुसार पार्टी विभाजन हुने अवस्थामा पुगिसकेको छ ।

मधेस प्रदेशमा रहेका नौ जना सांसदमध्ये चार जना र लुम्बिनी प्रदेशका ३ जनाले शुक्लालाई साथ दिने महासचिव झाले बताए । लोसपाको पदाधिकारीमध्ये २७ जना आफूहरूको साथमा रहेको उनको दाबी छ ।

सहअध्यक्ष शुक्लाले पार्टीभित्र असन्तुष्टि बढेको स्वीकार गरे । ‘पार्टी विभाजन भइसकेको छैन तर अवस्था त्यस्तै सिर्जना भएको छ,’ उनले भने ।

अध्यक्ष ठाकुरले मन्त्री चयन गर्ने निर्णय न्यायोचित ढङ्गले नगरेको आरोप लगाउँदै शुक्लाले भने, ‘बैठकमै उपस्थित नभएका व्यक्तिलाई मन्त्री बनाइएको छ । यसको मतलब पहिलादेखि नै निर्णय गरेर राखिएको थियो ।’

पहिलादेखि निर्णय गरेर मन्त्री चयन गर्ने तय भइसकेको थियो भने बैठक गर्ने नाटक किन गरेको भन्ने प्रश्न पनि उनले उठाए । यस सम्बन्धमा आफूले पार्टीभित्रका अन्य साथीहरूसँग सरसल्लाह गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताहरू सम्पर्कमा आइराखेका छन्, अब के गर्ने भन्ने विषयमा छलफल गरेरमात्रै अगाडि बढ्छौँ ।’

मन्त्री बनेर २० औँ पटक सिंहदरबारमा शरतसिंहको इन्ट्री, तस्बिरहरू

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖