काठमाडौं । नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार तीमध्ये नौ जनाको सनाखत भइसकेको छ । बाँकी आठ जानाको सनाखत हुन बाँकी रहेको छ ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले मंगलबार साँझसम्म १७ जनाको शव फेला परेको जानकारी दिनुभयो । बाँकीको खोजीकार्य आज पनि जारी रहेको छ ।
हालसम्म भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, जयप्रकाश ठाकुर, सजाद अन्सारी, सर्लाहीका रमितकुशर माझी, चितवन भरतपुरका सुदीप विक, रौतहटका फिरोज राहुपमिया, बराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको शव सनाखत भएको छ । अन्य ६ जना पुरुष र दुई महिलाको सनाखत हुन बाँकी छ ।
शुक्रबार बिहान ३ः३० बजेतिर भरतपुर महानगरपालिका–२९ को नारायणगढ मुग्लिन सडक खण्डमा पर्ने सिमलतालमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४०५ नं को गणपति डिलक्स बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थियो । एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार थिए ।
बसमा सवार तीन जना भने हाम फालेर ज्यान जोगाउन सफल भएका थिए ।
