• Saturday 24th of October 2026

विराटनगरमा प्रहरी चढेको गाडी पल्टिँदा घाइते हुनेको सङ्ख्या ३० पुग्यो, पाँचको अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

विराटनगर । विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा घाइते हुने प्रहरीको सङ्ख्या ३० जना पुगेको छ । जसमध्ये ५ जना गम्भीर घाइते भएका छन् ।

कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी अबिनारायण काफ्लेका अनुसार घाइते हुनेहरुमा आयुष लिम्बू, विवेक राई, हेमबहादुर ढाका मगर, योगेन्द्र मगर, सञ्जय ओझा, सौगात थापा, सुमन भुजेल र पुष्पराज श्रेष्ठको नाम खुलेको छ । अन्यको विवरण आउन बाँकी छ ।

बुधबार साँझ मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको हो ।

घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो अस्पतालमा ५ जना, विराट टिचिङ अस्पतालमा २ जना र नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको एसएसपी काफ्ले बताए । मुस्लिम समुदायको ‘मोहरम’ पर्व सुरु भइरहेको छ । उक्त पर्वको सुरक्षाको लागि मोरङ प्रहरीले थप मद्दत माग भएपछि प्रदेश प्रहरी तालिम केन्द्रबाट टोली परिचालन भएको थियो ।

‘मद्दतमा गएको प्रहरी टोली चढेको टु टन गाडि रानी क्षेत्रतर्फ जाँदै थियो । भट्टीमोर्डको टर्निङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ,’ एसएसपी दाहालले भने, ‘दुर्घटनामा घाइते भएका प्रहरीहरूलाई उद्धार गरी अस्पताल पठाउने काम सकिएको छ । अहिले उपचार भइरहेको छ ।’

गाडीमा ५४ जना प्रहरी सवार थिए । घाइते हुने अधिकांश प्रहरी जवानहरू रहेका छन् ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖