• Saturday 24th of October 2026

कस्तो छ सौर्य एयरलाइन्सका घाइते क्याप्टेनको स्वास्थ्य अवस्था?


  • धनकुटा खबर
  • .

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका ३७ वर्षीय क्याप्टेन मनीष शाक्यको उपचार भइरहेको छ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडेको जहाज केहीबेरमै दुर्घटनामा परेको थियो।
जहाजका क्याप्टेन शाक्यलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुर्घटनाको करिब २० मिनेटमा उद्धार गरेर केएमसी अस्पताल पुर्‍याएका थिए।

उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।

आइसियू (सघन उपचार कक्ष) मा राखेर शाक्यको उपचार गरिएको चिकित्सकहरूलाई उद्धृत गर्दै अस्पताल प्रशासन स्रोतले जनाएको छ।
आइसियू लैजानुअघि क्याप्टेन शाक्यले सामान्य कुराकानी गरेका थिए। शाक्यको आँखा, टाउको, खुट्टा लगायतका भागमा चोट लागेको छ।
‘केही समयअघि टाउकोको सिटी स्क्यान गरिएको छ। रिपोर्ट आउन बाँकी छ,’ अस्पताल स्रोतले भन्यो।

अहिलेसम्मको अवस्था हेर्दा शाक्यको स्वास्थ्य अवस्था त्यति खतरायुक्त भने छैन।

‘मस्तिष्कको सुन्नाइ र चोटको अवस्था केही समय निगरानी गरेपछि थप जानकारी दिन सकिन्छ,’ अस्पताल स्रोतले भन्यो।

सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि रनवे ०२ तर्फबाट उडेको जहाज रनवे २० नजिकै पूर्वतर्फ दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिएर रनवेको पूर्वमा दुर्घटना भएको थियो।
विमानमा चालक दलका सदस्यसहित १९ जना थिए। यसमध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। तीमध्ये १७ जना नेपाली र एक विदेशी हुन्।

अधिकांश सौर्य एयरलाइन्सका कर्मचारी रहे पनि केही परिवारका सदस्य पनि जहाजमा थिए।-सविना कार्की/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖