• Saturday 24th of October 2026

जहाज कन्टेनरमा ठोक्किएर दुई टुक्रा भयो :प्रत्यक्षदर्शी


  • धनकुटा खबर
  • .

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका प्रत्यक्षदर्शीहरूले विमानस्थल परिसर भित्रको कन्टेनरमा बजारिएर दुई टुक्रा भएको र आगो लागेको बताएका छन् ।

जहाज ठोक्किएपछि मानिसहरू छरिएका थिए । जहाज भुइँमा बजारिएपछि धुवाँको मुस्लो उठेको र त्यसको केही क्षणमा आगो दन्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।

पेप्सीकोला क्षेत्रमा मोटर ग्यारेजमा कार्यरत कृष्ण थापाले भने, ‘एक्कासी ड्याङ्ग आवाज आयो अनि माथिबाट कन्टेनर लड्यो । भित्तोमा प्लेन ठोक्किएर तल चौरमा बजारियो ।’

त्यो घटना भएको १५–२० सेकेण्डभित्रै विमानस्थल तारबार गरिएको ठाउँसम्म पुगेर हेरेको बताउने थापाले पहिले धुवाँ उठेको र पछि आगो लागेको बताए ।

डाँडामाथितिर तुरुन्तै दमकल र एम्बुलेन्स आएर उद्धार गरे पनि त्योभन्दा तलतिर भने ढिलो मात्रै उद्धार भएको उनको भनाइ छ । ‘यतातिर दमकल घुमेर आउने क्रममा अलि ढिलै भयो,’ उनले भने, ‘प्लेन जलेर ध्वस्त भइसकेपछि मात्रै दमकल आयो ।’

काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज आज बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र भित्रको पूर्वी भागमा दुर्घटना भएको थियो ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ भने एकजना घाइते छन् । घाइते हुनेमा क्याप्टेन मनिष शाक्य छन् । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

विमानस्थल स्रोतका अनुसार उक्त जहाजमा एयरलाइन्सका कर्मचारी र कर्मचारीका परिवारका सदस्य थिए । मृत्यु हुनेमा विमानका चार जना व्यवस्थापक छन् । जहाज पोखरामा मर्मतका लागि लगिँदै थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖