• Monday 5th of October 2026

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको र लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

साथै कोशी, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा रातिपनि भारी वर्षाको समेत सम्भावना छ।

वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्ग र तराईमा हावा हुरीको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖