• Saturday 17th of October 2026

सांसद गोठाला होइनन्, समितिको बैठक क्यालेण्डरअनुसार बस्नुपर्छ : सुनिल शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाए ।

उनले समितिको बैठक सञ्चालन सम्बन्धी क्यालेण्डर सांसदहरुलाई दिनैपर्ने बताए । उनले नेपाली नागरिकको पक्षमा कानून बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरेर बैठक बोलाउन माग गरे ।सांसद शर्माले सांसदहरु समितिको बैठक कति बेला बस्छ भनेर कुरेर बस्न नसक्ने बताए ।

यस्तो छ शर्माको भनाइः
विद्यालयमा हुँदा पनि यो पिरियडमा यो पढाइ हुन्छ भन्नेकुरा थाहा हुन्थ्यो । सांसद भएर आइयो र समितिको बैठक कहिले हुन्छ भन्नेकुरा हामीलाई यहाँबाट खटाएर एसएमएस गरेपछि लुगाफाटा लगाएर हत्तपत्त नुहाइधुवाई गरेर आउनुपर्ने स्थिति छ । कि त मतदान गरौँ, कि त यो उत्तर कोरियाको पार्लियामेण्ट हो भन्नुपर्छ, होइन भने मेजेरिटीको इन्ट्रेसलाई एड्रेस गर्नुपर्छ । बुझ पचाएर बस्न पाइँदैन ।

तपाईंले क्यालेण्डर दिनैपर्छ । आज यसको उत्तर पनि दिनुपर्छ, क्यालेण्डर दिने कि नदिने, नदिने भए किन ? कि त हामीलाई तिमीहरु कमलरी हौ भन्नुपर्यो नत्र हामीले जे भन्यौं त्यसो गर्नुपर्छ, तिमीलाई हामी क्यालेण्डर दिँदैनौँ, आउ तिमीहरु भन्नुपर्छ ।

नत्र हामीलाई गर्ने व्यवहार हलि गोठालाको जस्तो जति बेला बोलायो, त्यति बेला आइदिनुपर्ने, अनि महिनाभर क्यालेण्डर नदिने । यो हुनु हुँदैन । नेपाली नागरिकको पक्षमा कानून बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरौँ । कति बेला समिति बस्छ भनेर रुँगेर बस्ने हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖