काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समाजिक सञ्जाल लोकतन्त्रलाई चुनौति दिनसक्ने रुपमा नआएको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा पर्यो भन्ने भनाइसँग आफू सहमत नरहेको बताए ।
उनले सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भइरहेको सत्य भएपनि लोकतन्त्र नै खतरामा भने नपारेको बताए। उनले सामाजिक सञ्जालका गलत सूचनाहरु रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोशिस हुनुपर्ने बताए ।
उनले भने, ‘मलाई के लाग्छ भने यो सोसल मिडियाले लोकतन्त्रमा खतरा ल्यायो भन्नेकुरासँग म त्यति धेरै सहमत छैन । यसले मिस कम्युनिकेसनको कुरा गरेको छ, गलत सूचना संप्रेषण भइरहेको छ, समाजलाई गलत गर्ने कोशिस पनि गरिएको छ । तर लोकतन्त्रलाई चुनौति दिनसक्ने तहमा यो आइसक्यो भन्ने मलाई लाग्दैन । लोकतन्त्रलाई चुनौति दिनसक्छ जस्तो लाग्दैन । यद्यपि यसका प्रभावको बारेमा छलफल गर्नुपर्छ । त्यसबाट हामीले हाम्रो सोसाइटीलाई जोगाउने कोशिस गर्नुपर्दछ ।’
उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल, इआई, आइटीको दुरुपयोग हुनसक्ने भए सदुपयोग हुनसक्छ की सक्दैन ? भन्ने प्रश्न गरे । उनले राजनीतिक दलहरु वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनुपर्ने बताए । उनले कसैले पनि प्रेस स्वतन्त्रतालाई संकुचन गर्नु नहुने बताए ।
