काठमाडौं । सिन्धुलीमा मोहनविक्रम सिंह नेतृत्वकाे मसाल र माेहन वैद्य नेतृको माओवादी पार्टी एमालेमा समाहित भएका छन् ।
आइतबार एमालेमा समाहित हुने दुवै पार्टीको सिङ्गो जिल्ला कमिटीलाई एमाले उपमहासचिव विष्णु रिमालले पार्टीमा स्वागत गर्नुभएको हो ।
कम्युनिष्ट पार्टी भिन्न नाममा विभाजित हुँदा मुक्ति आन्दोलन सफल हुन नसक्नै भन्दै उहाँहरू एमाले प्रवेश गर्नुभएको हो । नेकपा मसालका जिल्ला सेक्रेटरी सन्तबहादुर विकको नेतृत्वमा सिङ्गो जिल्ला कमिटी एवं चित्रबहादुर केसी सम्बद्ध राष्ट्रिय जनमोर्चामा आबद्ध ४० भन्दा बढी नेताहरू एमाले प्रवेश गर्नुभएको छ ।
त्यसै गरी मोहन वैद्य नेतृत्वको माओवादी वाग्मती प्रदेश कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज बालकृष्ण थापा नेतृत्वमा रहेको कमिटी पनि एमालेमा समाहित भएको छ । सहिद ऋषि देवकोटा आजादको ४३ औँ स्मृति दिवसको अवसरमा सिन्धुलीको मरिणमा आयोजित कार्यक्रममा उहाँहरू एमाले प्रवेश गर्नुभएको हो ।
पार्टीमा समाहित भएका नेता कार्यकर्तालाई स्वागत गर्दै उपमहासचिव रिमालले नेकपा एमाले कम्युनिष्ट आन्दोलनको मूलधार भएको बताउँदै सबैलाई कम्युनिष्ट पार्टीको मूलधारमा आउन आग्रह गर्नुभयो । नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादको हाबी भएकोले सतर्क हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमलाई एमालेका केन्द्रीय सदस्यहरू विषमलाल अधिकारी दनुवार, मनोजजंग थापा, कमलजंग राई, सुवास देवकोटालगायतले सम्बोधन गर्नुभएको थियो । देवकोटा सहिद आजादका छोरा हुनुहुन्छ । कार्यक्रम एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीको अध्यक्षतामा भएको थियो ।
