• Saturday 17th of October 2026

ओली जत्तिको देश र जनतालाई बुझेको नेता कोही छैन : शंकर पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रमका कारण नेकपा एमाले जनताको बिचमा स्थापित भएको बताउनुभएको छ ।

नेकपा एमाले रामेछाप जिल्ला स्कुल विभागले सोमबार मन्थलीमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले पार्टीलाई थप बलियो बनाउन दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त गर्नुपर्ने बताउनुभयो । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माणको लागि दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई समाप्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वैचारिक र राजनीतिक काम कम गर्न लागेपछि एउटा इमानदार क्रान्तिकारी पनि बिग्रने पोखरेलले बताउनुभयो । पार्टी प्रधान नभएर अमुक नेता प्रधान बनेपछि नेता, कार्यकर्तामा विचलन आउने र पार्टी समाप्त हुने उहाँले बताउनुभयो । नेकपा एमालेबाट माधव नेपालहरू छुट्टिँदा धेरै मान्छेहरू पार्टी भन्दा व्यक्ति रोजेका कारण फरक धरामा लागेका उनीहरू समाप्तिको बाटोमा उन्मुख भएका उहाँले स्पष्ट पार्नुभयो ।

नेकपा बनाएपछि पार्टीको काम ठप्प भएको कारण केही मान्छेहरू बिग्रिएका उहाँले बताउनुभयो । तिनै बिग्रिएका मानिसले पार्टी फुटाउने काम गरेका उहाँले बताउनुभयो । यति बेला माधव नेपाल आफूहरूले जित्न नसके पनि एमालेलाई हराएर गठबन्धनको बहुमत पुर्‍याउन सकेकोमा गर्व गर्दै हिँड्नुभएको पोखरेलले टिप्पणी गर्नुभयो ।

पोखरेलले नेपालको निर्णायक आन्दोलनमा कांग्रेससँगै भए पनि आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्ने कुरामा भने कांग्रेस चुक्ने गरेको बताउनुभयो । कांग्रेसकै कारण बारम्बार प्राप्त उपलब्धि गुमेको उहाँले टिप्पणी गर्नुभयो । ‘कांग्रेसको नियत कहिल्यै सफल रहेन’, उहाँले भन्नुभयो ।

नेपालको राजनीति बीपीको मान्यता विपरीत चलेको पोखरेलको धारणा छ । बीपी बाँचुन्जेल कम्युनिष्टसँग मिलेर आन्दोलन गर्न नमानेको कारण पञ्चायत ३० वर्षसम्म चलेको उहाँले टिप्पणी गर्नुभयो । मदन भण्डारीको पहल र गणेशमान सिंहको अग्रसरतामा कांग्रेस र कम्युनिष्ट मिलेर जनआन्दोलन गरेपछि २०४६ को आन्दोलन सफल भएको उहाँले प्रष्ट पार्नुभयो ।

पोखरेलले २०४६ को परिवर्तन पछि संविधान बनाउने बेला पनि कांग्रेस अलग धारमा उभिएको कारण देश पछि परेको बताउनुभयो । त्यति बेला कांग्रेस बाममोर्चाको पक्षमा उभिएको भए राजतन्त्र त्यति बेलै समाप्त हुने उहाँले प्रष्ट पार्नुभयो ।

माओवादी र राजवादी बिच पनि गुप्त छलफल हुने गरेको र माओवादीले राजासँग मिलेर आन्दोलन गरेका पोखरेलले टिप्पणी गर्नुभयो । माओवादी र राजावादी बिच सहमतिको तयारी भइरहेको बेला तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि माओवादी बाध्य भएर राजनीतिक दलसँग मिल्न आएको पोखरेलले बताउनुभयो । ‘माओवादीको प्रहारको निशाना कहिल्यै राजवादी बनेनन्, उनीहरूको प्रहारको निसाना कांग्रेस र एमाले थिए’, उहाँले भन्नुभयो ।

पोखरेलले चुनाव नै नलडेको माओवादीलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा एमालेको सरह सिट दिएर एमाले र माओवादीलाई लडाउने काम गरेको बताउनुभयो । तर आज त्यसको सबैभन्दा बढी क्षति माओवादीले बेहोरिरहेको पोखरेलले टिप्पणी गर्नुभयो ।
पोखरेलले राजनीतिका परिवर्तनलाई लक्षको रूपमा बुझ्न नहुने बताउनुभयो । राजनीतिक परिवर्तन समृद्धि र समाजवादको आधार मात्र भएको उहाँले प्रष्ट पार्नुभयो ।

जनतासँग टुटेको पार्टीले देश र जनताको हितमा काम गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । देश र जनताको विकासको लागि नेता जनतासँग र जनता नेतासँग जोडिनु पर्ने बताउनुभयो । समाज बदल्नु नपर्ने यथास्थितिवादीलाई नबोल पनि हुने भए पनि समाज परिवर्तन गर्नेले भने बोल्नै पर्ने पोखरेलले बताउनुभयो । ‘चेतनाको प्रवाह गर्नेहरूले बोल्नुपर्दछ, विचारको आधारमा समाजलाई डोहोर्याउनेले बोल्नु पर्दछ’, उहाँले भन्नुभयो ।

पोखरेलले जनमतको आधारमा शासन गर्ने प्रणाली नेपालमा विकास हुन नसकेको बताउनुभयो । जनताले बहिष्कार गरेको शक्तिले शासन गर्ने र जनताले सबैभन्दा बढी रुचाएको शक्ति सत्ता बाहिर रहेको उहाँले टिप्पणी गर्नुभयो । यो लोकतन्त्रको मूल्य र मान्यता विपरीत रहेको पोखरेलले स्पष्ट पार्नुभयो ।

नेकपा एमाले जति बेला सरकारमा गयो त्यति बेल देश र जनताको विकास र समृद्धिको लागि काम गरेको पोखरेलले दाबी गर्नुभयो । यो कुरा जनताको बिचमा पुर्‍याउन नसक्दा विरोधीले एमाले विरुद्ध हिलो छ्याप्ने काम गरेका उहाँले बताउनुभयो । अल्पसङ्ख्यकको संरक्षण, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा लगायतका सामाजिक सुरक्षाका कार्यक्रम नेकपा एमालेले ल्याएको उहाँले प्रष्ट पार्नुभयो । हुलाकी सडक, पूर्वपश्चिम राजमार्ग विस्तार, फाष्ट ट्रयाक, विमानस्थल, सुरुङ, रेल, पानी जहाजदेखि आकाशमा स्पेस लिनेसम्मको काम एमाले सरकारले गरेको उहाँले उदाहरण पेस गर्नुभयो ।

पोखरेलले देश बनाउनको लागि देश र जनताको भावना बुझेको नेता आवश्यक पर्ने बताउनुभयो । ‘नेपालको समकालीन राजनीतिमा एमाले अध्यक्ष केपी ओली जत्तिको देश र जनता बुझेको नेता कोही पनि छैन’, उहाँले भन्नुभयो ।

देश निर्माणको लागि अर्को महत्त्वपूर्ण कुरा बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने पोखरेलले बताउनुभयो । नेकपा एमाले अहिले सबैभन्दा बलियो राष्ट्रिय शक्ति भए पनि सत्ता चलाउन पुग्न आवश्यक मत नरहेकोले एमालेलाई एक्लै सरकार चलाउन सक्ने ठाउँमा पुर्‍याउनु पर्नेमा उहाँले जोड दिनुभयो । नेताहरूको टाउको जोडेर होइन, जनताको मन जोडेर पार्टीलाई बलियो बनाउनु पर्ने पोखरेलको धारणा छ ।

पोखरेलले देशको धार्मिक र सांस्कृतिक पहिचान प्रति गर्व गर्नुपर्ने बताउनुभयो । धर्म र संस्कृति माथिको बढ्दो प्रहार रोक्नु आजको आवश्यकता रहको उहाँले बताउनुभयो । राष्ट्रलाई बलियो र समृद्ध बनाउने हो भने त्यसको जग के हो भन्ने कुरा राम्रोसँग बुझ्नु पर्ने पोखरेलले बताउनुभयो । जगमा टेकेर अघि बढ्दा मात्र समाजवादको आधार निर्माण हुने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖