काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेकाे माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेकाे प्रवक्ता अग्निप्रसाद सापकाेटाले जानकारी दिनुभयाे ।
नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई अघि सार्ने चर्चा चलिरहेका बेला गठबन्धनकाे घटक माओवादीले भने आफ्नै उम्मेदवार अघि सार्ने निर्णय गरेकाे हाे । राष्ट्रिय सभा अध्यक्षमा उमेदवारी दिने निर्णयले गठबन्धनमा कुनै असर नपर्ने प्रवक्ता सापकाेटाले जानकारी दिनुभयाे ।
उहाँले आगामी चुनावमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय भएकाे पनि जानकारी दिनुभयाे । पार्टीकाे यसअघि नै बसेकाे केन्द्रीय समिति बैठक र विधान सम्मेलनमा समेत आगामी चुनावमा एक्लै लड्ने निर्णय गरिसकेकाे प्रवक्ता सापकाेटाले बताउनुभयाे । गठबन्धन गर्ने-नगर्ने भन्ने विषय तत्कालीन परिस्थिति अनुसार गर्ने कार्यनैतिक विषय भएकाे समेत उहाँले बताउनुभयाे ।
बैठकले नेताहरुकाे कार्यविभाजन गरेकाे प्रवक्ता सापकाेटाले बताउनुभयाे ।
