• Sunday 18th of October 2026

सोमबारदेखि राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठुलो दलको हैसियतमा रहँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । सोमबारदेखि राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठुलो दलको हैसियतमा रहँदैछ । गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट १९ जना सदस्य निर्वाचित हुँदा माओवादीमा ५ सदस्य थपिएका थिए । हाल १५ सदस्य रहेको यो दलबाट ३ सदस्य बाहिरिँदैछन्, ५ नयाँ सदस्य थपिँदा १७ सदस्यसहित सबैभन्दा ठुलो दल बन्न लागेको हो ।

गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाको समीकरणमा फेरबदल भएको छ । माओवादी पहिलो ठुलो दल बन्दा कांग्रेस दोस्रो ठुलो दलको हैसियतमा रहँदैछ । हाल राष्ट्रिय सभामा कांग्रेसका १० सदस्य छन् । माघ ११ गते कांग्रेसबाट १० सदस्य निर्वाचित भएका थिए । ४ सदस्य भोलीदेखि बिदा हुँदैछन् । अब राष्ट्रिय सभामा कांग्रेस १६ सदस्य सहित दोस्रो ठुलो दलको भएको छ ।

यस्तै एमाले तेस्रो ठुलो दल भएको छ । हाल एमालेका १७ सदस्य रहेकोमा भोलीबाट ८ सदस्य बिदा हुँदैछन् । गत राष्ट्रिय सभा निर्वाचनमा १ जना उम्मेदवार विजयी भएकाले अब एमालेले १० सदस्य सहित प्रतिनिधित्व गर्नेछ ।

यता नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठुलो दल बनेको छ । हाल यो दलबाट राष्ट्रिय सभामा ८ जना सदस्य छन् । भोलीदेखि २ सदस्य बिदा हुँदैछन् भने २ सदस्य निर्वाचित भएर प्रवेश गर्दैछन् । यता जनता समाजवादी पार्टीबाट १ सदस्य बिदा हुँदैछन् भने १ सदस्य निर्वाचित भएर प्रवेश गर्ने भएको सङ्ख्या फेरबदल भएको छैन । यता लोकतान्त्रिक समाजवादी पार्टीका एक सदस्य भने यथावत् रहेका छन् ।

यी सदस्य जो सोमबारदेखि राष्ट्रिय सभामा प्रवेश गर्दैछन्
फागुन २१ गतेबाट नेपाली कांग्रेसबाट १० सदस्यहरू कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट राष्ट्रिय सभामा जाँदैछन् ।

माओवादी केन्द्रबाट ५ सदस्य श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द राष्ट्रिय सभामा प्रवेश गर्दैछन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट २ सदस्य घनश्याम रिजाल, सावित्री मल्ल, नेकपा एमालेबाट रुकमिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरी राष्ट्रिय सभामा जाँदैछन् । उनीहरूका लागि फागुन २१ गते बिहान नयाँ बानेश्वरमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖