• Monday 19th of October 2026

रविको बचाउ गर्दै कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्नः ‘उजुरी दर्ता हुनासाथ राजीनामा दिने सहमती गर्न सक्छौं ?’


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा सरकारमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले हालसम्मको अनुसन्धानले लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उनी कहीँ कतै नजोडिएको बताएका हुन् ।

मूल उजुरी परेको ६ महिनापछि कास्की जिल्ला प्रहरी कार्यालयमा पुरक जाहेरी परेको र थप प्रमाणहरु भेटिएमा पुरक जाहेरी दिई अनुसन्धान गर्न सकिने प्रावधान विपरीत पुरक जाहेरी परेको उनको भनाइ छ । लामिछाने उक्त सहकारी हिनामिनामा संलग्न भएको कुनै पनि आधार प्रमाण पेश गर्न नसकिएको उनको दाबी छ ।

साथै, अनुसन्धानबाट केही कैफियत देखिएमा लामिछानेलाई कारबाही गर्ने कुरामा पनि कसले रोक्न नसक्ने उनको भनाइ छ । गृहमन्त्री लामिछानेको राजीनामा मागिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसतर्फ लक्षित गर्दै उनले ‘उजुरी पर्नासाथ राजीनामा दिने सहमती गर्न सकिन्छ ?’ भनेर प्रश्नसमेत गरे । लामिछानेविरुद्ध परेको उजुरीलाई राजनीतीकरण नगर्नसमेत उनले आग्रह गरे ।

‘मुद्दा बुझाइसक्दा सम्म उहाँको नाममा उजुरी, निवेदन केही छैन। उजुरी पर्नासाथ राजीनामा दिने हो भने के हुन्छ के ? हामी उजुरी दर्ता हुनासाथ राजीनामा दिने सहमति गर्न सक्छौं ? हैन, गृहमन्त्रीबाट चाहिँ हटाऊ, मुद्दा प्रभावित हुन्छ भन्न खोज्नु भएको हो भने प्रभावित पार्नेले अर्को मन्त्रालयमा बसे पनि पार्ला। सरकारमा बसे मात्रै पनि पार्ला। त्यसैले यो विषयलाई राजनीतिकरण नगर्न अनुरोध गर्दछु,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖