• Monday 19th of October 2026

काठमाडौंदेखि झापासम्म वर्षा


  • धनकुटा खबर
  • .

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बागमती सहितका कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।
काठमाडौंको कपन, बूढानीलकण्ठ र गोकर्णेश्वरको धाप, भक्तपुरको नगरकोट लगायतका ठाउँमा बिहानैदेखि पानी परिरहेको छ। झरी परेपछि चिसो केही बढेको छ।

गोकर्णेश्वरको धाप क्षेत्रमा पछिल्लो २४ घन्टामा ३.० मिलिमिटर पानी परेको छ। कपन क्षेत्रमा ०.६ मिलिमिटर पानी परेको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा ०.४ मिलिमिटर वर्षा मापन भएको छ।

पछिल्लो २४ घन्टामा सिराहामा अधिक पानी परेको छ। सप्तरी र सिराहाको सीमामा पर्ने चुरेमाईमा पछिल्लो २४ घन्टामा ३० मिलिमिटर पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनकाअनुसार बागमतीको सिन्धुली, मकवानपुर जिल्ला र आसपासका ठाउँहरूमा छिटपुट वर्षा भइरहेको छ।

सिन्धुलीको रानीबास पछिल्लो २४ घन्टामा ७.६ मिलिमिटर पानी परेको छ। महोत्तरीको बर्दिबासमा ६.६ मिलिमिटर र उदयपुरको सुन्दरपुरमा ८.४ मिलिमिटर पानी परेको छ।

खोटाङको ऐँसेलुखर्कमा ४.८ र ओखलढुंगाको मानेभञ्ज्याङमा ४.६ मिलिमिटर पानी परेको छ। पश्चिमतर्फ भने आंशिक बदली छ। कर्णालीको चिसापानी क्षेत्रमा पछिल्लो २४ घन्टामा १.२ मिलिमिटर पानी परेको छ।

नवलपरासीको बर्दघाटमा ०.६ मिलिमिटर पानी परेको छ। ‘अहिलेको प्रणाली मध्य र पूर्व क्षेत्रमा सक्रिय देखिएको छ,’ उनले भने।
कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖