• Monday 19th of October 2026

नेपाल एयरलाइन्सले गायब बनायो न्यारोबडी जहाज


  • धनकुटा खबर
  • .

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कलसाइन ‘नाइन एन एकेएक्स’ न्यारोबडी नोभेम्बर ३० अर्थात मंसिर १४ गते देखि ग्राउन्डेड भएको थियो। अहिले १ सय ९ दिन हुँदासम्म जहाज मर्मत हुन सकेको छैन।

जहाज ग्राउन्डेड गरेर समयमा नै इन्जिन मर्मत नभएको भन्दै विरोध भएपछि निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाज नै इजरायल लगेर थन्क्याएका छन्। जहाज पुस २६ गते इजरायल पठाइएको थियो तर अहिलेसम्म नेपाल ल्याइएको छैन। इन्जिन मर्मत गरेर उडानमा ल्याउनुपर्ने जहाज महिनौँदेखि गायब भएको छ।

इजरायल लगरे राखिएको जहाजको उडान नै नभएपनि निगमले जहाजमा प्रयोग भएको इन्जिनको दैनिक २ हजार डलर तिरिरहेको छ। बिग्रिएको इन्जिन जहाजबाट झिकेर मर्मत गर्ने काम भने भएको छैन।

जुलाई १७ मा नै नाइन एन एकेएक्स न्यारोबडी जहाजको इन्जिनमा समस्या देखिएको थियो। जहाजको इन्जिनमा समस्या देखिएपछि सेप्टेम्बर ३० मा इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो। १० दिनपछि बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर भाडाको इन्जिन राखेर जहाज आएको थियो। ६५ दिनमा नै इन्जिन मर्मत गरेर दिने भने पनि जहाजको इन्जिन अहिलेसम्म मर्मत भएको छैन।

अहिले इजरायल पठाइएको जहाजमा सेप्टेम्बर ३० मा मर्मतका लागि दिएको इन्जिन राखेर ल्याउने र बिग्रिएको इन्जिन त्यहीँ मर्मतका लागि दिनेगरी इजरायल पठाइएको थियो। तर जहाज ६७ दिनदेखि इजरायलमा नै थन्क्याइएको छ।

जहाजमा मर्मत भइको इन्जिन हालेर ल्याउनका लागि भनेर चालकदलका सदस्यहरूको भिसालगायतका प्रक्रियाको काम भइसकेको छ। तर जहाज लिन कहिले जाने भन्ने यकिन छैन।

निगम स्रोतका अनुसार सेप्ट‍ेम्बरमा मर्मतका लागि दिइएको इन्जिन अप्रिल १२ सम्ममा मात्रै मर्मत हुने बुझिएको छ। नोभेम्बर ३० मा बिग्रिएको इन्जिन त मर्मतमा नै जान सकेको छैन।

अहिले इजरायलमा मर्मत भइरहेको इन्जिन बिग्रिएको २ सय ४६ दिन भइसकेको छ। इजरायलमा मर्मत भइरहेको इन्जिन २०२३ को जुलाई १७ अर्थात साउन १ गतेदेखि रहेको छ। जुलाई १७ मा बिग्रिएको इन्जिन मर्मतका लागि इजरायल पठाएको पनि १ सय ६६ दिन भइसकेको छ। तर इन्जिन मर्मत हुन सकेको छैन।

इन्जिन मर्मतका लागि भएको सम्झौतामा ६५ दिनमा इन्जिन मर्मत गरेर दिने उल्लेख भएको छ। इन्जिन मर्मत भएर जहाज उडानमा नआउँदा निगमले मासिक ३० करोड आम्दानी गुमाइरहेको छ। अर्कोतिर जहाज उडानमा नरहेपनि १ सय ९ दिनदेखि जहाजमा प्रयोग भएको इन्जिनको भाडावापत निगमले दैनिक २ हजार डलर खर्च गरिरहेको छ।

निगम व्यवस्थापनले जहाजको इन्जिन मर्मत कहिले हुन्छ र जहाज कहिलेबाट उडानमा आउँछ यकिन जवाफ दिएको छैन। निगम कार्यकारी अध्यक्ष अधिकारीले सेटिङमा इन्जिन मर्मत तथा इन्जिन भाडामा लिनेगरी एउटै कम्पनीलाई जिम्मा दिएका थिए।

काम गर्न नै नसक्ने कम्पनीलाई सेटिङमा जिम्मा दिँदाको परिणाम अहिले देखिएको छ। इन्जिन मर्मत तथा भाडाका लागि भन्दै ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज’ (आईएआई) छनोट गरिएको हो। यो कम्पनीबाट इन्जिन मर्मतका लगातार लापरबाही भइरहेको देखिएको छ। -बिजनेस न्यूजबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖