• Monday 19th of October 2026

जिबी राईलाई कसले लुकाएको छ, जवाफ चाहियो ? :सूर्यदर्शन सहकारी पीडित


  • धनकुटा खबर
  • .

काठमाडौँ । सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेका छन् । पीडितका तर्फबाट सूर्यदर्शन सहकारी सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई बिहीबार ज्ञापन पत्र बुझाउँदै बचत फिर्ताको वातावरण बनाइदिन अनुरोध गरेका हुन् ।

पीडितहरूले सहकारी पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जिबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरूलाई पक्राउ गर्न चासो नदिएको पनि बताएका छन् । ‘सहकारी सञ्चालकलाई तुरुन्त पक्राउ गरी कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ तर अहिलेको यो सरकारलाई यो जिबी राई भन्ने नाम र सूर्यदर्शन भन्ने सहकारी प्रधानमन्त्री, गृहमन्त्रीदेखि परराष्ट्रमन्त्रीका साथै सिङ्गो राष्ट्रको प्रहरी प्रशासनको टाउको दुखाई बनिरहँदा पनि बाँकी अभियुक्तहरू किन पक्राउ पर्दैनन् ?’समिति सभापतिलाई पीडितहरूले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

उनीहरूले सूर्यदर्शन सहकारीमा समस्या आएयता तीन चार पटक सरकार परिवर्तन भए पनि बचतकर्ताको पीडा २० को १९ नभएको बताएका छन् । उनीहरूले सुशासनको कुरा गर्नेहरूलाई प्रश्न समेत गरेका छन् । ‘कसले किन लुकाई राखेका छन् जिबी राईलाई हामीलाई जबाफ चाहिएको छ, जिबी राईलाई पक्राउ गरी ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ त्यसको हिसाब किताब यो राज्य सरकारले गरिदिनु पर्‍यो’, उनीहरूले भनेका छन्, ‘हामी कति समय पीडामा बस्ने हो, हाम्रो यो सहकारीको समस्या कहिले समाधान हुन्छ यसको मिति पनि यो राज्य सरकारले तय गरिदिनु पर्‍यो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖