• Monday 19th of October 2026

रवि लामिछाने पदमा बसिरहनु रहस्यमय : शेखर कोइराला


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि संसद्‌सम्म चौतर्फी विरोध भइरहँदा पनि उनी पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइराला बताए ।

‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुङ्गो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो’ कोइरालाले भने । काठमाडौँको मध्ये बानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सत्ता गठबन्धनले यति ठुलो बदमासी गरिरहँदा पनि काठमाडौँका चेतनशील मानिसहरू चुपचाप बसिरहँदा अचम्म लागेको बताए ।

हरेक परिवर्तनमा काठमाडौँबासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उनीहरूको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए । स्थानीय कार्यकर्ताहरूले पार्टीमा चाकडी प्रथा हाबी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको जस्ता गुनासाहरू राखेका थिए ।

भेटघाटमा बाग्मती प्रदेशसभा सांसद सुरज लामिछाने, काठमाडौँ–१ का क्षेत्रीय सभापति रविविक्रम राणा, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा कुलप्रसाद कोइराला, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, श्रीहरी अर्याल, वरिष्ठ पत्रकार हरिहर विरही लगायतको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖