मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।नेकपा (एमाले) बाट चार जना सरकारमा थपिएका छन्। केहीले मन्त्री तथा केहीले राज्यमन्त्री पाएका छन्।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानूनमन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधन सिंह कोइरी र शिक्षा तथा संस्कृतिमन्त्रीमा प्रमोद जैसवाल नियुक्त भएका छन्। जैसवाल केही महीनाअघि मात्रै एमालेमा प्रवेश गरेका थिए।
त्यस्तै, केशव राय राज्यमन्त्री बनेका छन्। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन्।
चारै जनाले शनिबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनीहरूलाई शपथ खुवाएकी छन्।
सत्ता गठबन्धन फेरिएसँगै मधेशका मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका मन्त्रीलाई हटाएका थिए। कांग्रेसको ठाउँमा एमालेलाई सरकारमा सहभागी गराएका हुन्।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) यसअघिदेखि नै सरकारमा सहभागी छन्। सत्ता गठबन्धनमा नभए पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मन्त्रीलाई भने हटाइएको छैन।
