काठमाडौं – प्रदेश सरकारको नेृतत्व भागबण्डामा सत्तारुढ दलहरु सहमति नजिक पुगेका छन् । नेृतत्व भागबण्डामा सहमति नजिक पुगेसंगै केन्द्रिय सरकारमा सामान्य मन्त्रालयमा खुम्चिएको एमालेलाई प्रदेशमा चिठ्ठा पर्ने भएको हो ।
माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटमा यसबारे कुराकानी भएको छ ।
अब बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागबण्डा टुंगो लगाउने तयारी छ । सोमबार पार्टीको बागमती प्रदेश कमिटीको बैठकमा प्रचण्डले भनेका छन्, ‘प्रदेश सरकारबारे भोलि बेलुकासम्म टुंगिन्छ ।’
सम्भावित भागवण्डा
एमाले – कोशी, गण्डकी र कर्णाली
माओवादी – बागमती र लुम्बिनी
जसपा – मधेश
स्रोतका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने तयारी छ ।
एक नेताका अनुसार कोशीमा एमालेले नेतृत्व गर्ने विषय गिसकेको छ । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत पनि छ । प्रदेशको सबभन्दा ठूलो दल एमालेका ४० प्रदेश सांसद छन् भने माओवादीका १३ र एकीकृत समाजवादीका ४ सांसद छन् । गठबन्धनसँग प्रष्ट बहुमत भएपनि सरकार गठन सहज छैन ।
यहाँ प्रदेशसभा निर्वाचन भएको एक वर्षमै ५ वटा सरकार बनिसकेको छ । सुरुमा एमाले, माओवादी गठबन्धनबाट एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बने । केन्द्रमा गठबन्धन फेरिएपछि नेपाली कांग्रेसका उद्धव थापा दुई पटक मुख्यमन्त्री भए । दुबै पटक सर्वोच्च अदालतले पदमुक्त गरेपछि एमालेका कार्की अल्पमतको मुख्यमन्त्री बने । उनले पनि विश्वासको मत दिन नसकेपछि संविधानको धारा १६८(५) अनुसार कांग्रेसका केदार कार्की मुख्यमन्त्री बने ।
कांग्रेसबाट विद्रोह गरेका उनलाई एमालेले समर्थन गरेर मुख्यमन्त्री बनाएको थियो । तर अहिले केन्द्रको सत्ता समीकरण फेरिएसँगै एमाले आफ्नो नेतृत्वमा सरकार बनाउन चाहन्छ, तर आफैंले बनाएका मुख्यमन्त्री बाधक बनेका छन् ।
