बैतडीः बैतडीमा पहिलो पटक हिमाली घोरल देखा परेको छ। ग्वाल्लेक संरक्षित वन क्षेत्र नजिकै रहेको मेलौली नगरपालिका–४ तिताबैको बाँस गोद्याओढारको जंगलमा हिमाली घोरल देखिएको हो।
हिमाली घोरल प्रायःजसो हिमाली क्षेत्रमा पाइने भएपनि कतैबाट छुट्टिएर आएको हुन सक्ने डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले बताए। बच्चासहितको हिमाली घोरल ग्वाल्लेक संरक्षित वन क्षेत्र नजिकै देखिएको यादवले बताए।
ग्वाल्लेक संरक्षित वन क्षेत्रमा १६ प्रकारका स्तनधारी प्रजाति पाइने भएपनि हिमाली घोरल पहिलो पटक देखा परेको उनले बताए। हिमाली घोरलको देखेपछि स्थानीयहरुले फोटो र भिडिओ खिचेर सामाजिक सञ्जालमा हालेका थिए। त्यसपछि डिभिजन वन कार्यालयका तर्फबाट उक्त क्षेत्रमा टोली पठाएको डिभिजन वन प्रमुख यावदले जानकारी दिए।
गोठालो गएको बेला नयाँ वन्यजन्तु देखेपछि फोटो तथा भिडिओ खिचेर आफूले सामाजिक सञ्जालमा हालेको स्थानीय मोहनबहादुर चन्दले बताए। मेलौली नगरपालिका–४ र ७ को सीमा क्षेत्रमा रहेको जंगलमा हिमाली घोरल देखा परेको हो।
गोठालो गएको बेला हिमाली घोरल देखा परेको चन्दले बताए। उनले जंगलमा देखिएको हिमाली घोरलको संरक्षण गर्नुपर्नेमा जोड दिए। गैरकानुनी शिकार हुन सक्ने जोखिम रहेको उनले बताए।
