• Saturday 17th of October 2026

आगलागी नियन्त्रणमा खटिएका चार सैनिक घाइते


  • धनकुटा खबर
  • .

सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा डोल्पामा चार जना नेपाली सेना घाइते भएका छन्।

ठूलीभेरी नगरपालिका–३ मा रहेको मस्टाभवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि खटिएका नेपाली सेना घाइते भएका हुन्।
आइतबार दिउँसो देखि वनमा लागेको आगो हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएपछि सोमबार देवीदत्त गुल्मबाट नेपाली सेनाको टोली आगलागी नियन्त्रणका लागि गएको थियो।

त्यसक्रममा गुल्ममा कार्यरत सैनिक जवानहरू २८ वर्षीय हेमन्त रावत, २३ वर्षीय अशिष बुढा, ३० वर्षीय विजय कोइराला र ३८ वर्षीय केशरबहादुर दर्जा मगर घाइते भएका हुन्।

घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लिन लागिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले बताए।

‘जलेको उपचार यहाँ सम्भव छैन, त्यसैमाथि उहाँहरूको अवस्था गम्भीर जस्तो छ,’ उनले भने, ‘अहिले नेपाली सेनाकै हेलिकप्टरबाट दुई जनालाई नेपालगञ्ज लगिएको छ, अरू दुई जनालाई लिन हेलिकप्टर आउँदै छ।’

उनीहरूलाई सुरूमा जिल्ला अस्पतालमा राखिएको उनले बताए। नेपालगञ्ज पनि सम्भव नभए काठमाडौंसम्म हेलिकप्टरमार्फत लगिने डिएसपी केसीले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖