• Sunday 18th of October 2026

छोटुलालको इमान्दारीताः जसले बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए


  • धनकुटा खबर
  • .

कास्की, वैशाख ७ । पोखरा महानगरपालिका-८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको १७ लाख रुपैयाँ जम्मा गर्न १ः३० बजेतिर बैंक निस्किए ।

मोटरसाइकलको लेगार्डमा कालो रङ्गको झोलाभित्र पैसा राखेर उनी नयाँ बजारस्थित कृषि विकास बैंकतर्फ लागेका थिए। तर, बैंकमा पुगेर हेर्दा पैसा भएको झोला मोटरसाइकलमा थिएन ।

पैसाको झोला बाटोमा खसेको मनोहरले पत्तो पाएनन्। वरपर खोज्दा झोला फेला नपरेपछि ठूलो तनावमा परेका उनले यसबारेमा प्रहरीलाई खबर गरे।

पोखराका मुख्य बजारबाट ठूलो रकम हराएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माको कमाण्डमा तत्कालै प्रहरी परिचालित भयो ।

हराएको पैसाको झोला भारत घर भई पोखरा–३ नदीपुर बस्ने ६५ वर्षीय छोटुलाल शर्माले बाटोमा भेटाएका रहेछ । टिस्यु पेपर लगायतका व्यापार गर्ने शर्माले पैसाको झोला फेला पारेपछि प्रहरी खोज्दै हिँडेको अवस्थामा भेटिए। साथमा मोबाइल नभएका शर्मा आफै पैसा बोकेर प्रहरीको सम्पर्कमा आएका हुन् ।

“पृथ्वीचोकबाट १७ लाख हरायो भनेपछि ठूलो घटना हुने भयो भनेर सबै ठाउँबाट तत्कालै प्रहरी परिचालित भयो ।” प्रनाउ शर्माले भने, “पैसाको झोला भेटाएपछि उहाँ (छोटुलाल) प्रहरी खोज्दै हिँड्नुभएको रहेछ, प्रहरीलाई देख्ने वित्तिकै उहाँले पैसाको झोला बुझाउनुभयो ।”

प्रनाउ शर्माले फेला परेको पैसा सम्बन्धित व्यक्तिको पुष्टि भएपछि शर्माको रोहबरमा ज्वैलर्सका सञ्चालक पोखरा–५ बस्ने ४३ वर्षीय धुव्रकुमार सुनार बुझाइएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖