• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकपमा विजयको ताज पहिरिने प्रयास हुनेछ :कप्तान रोहित


  • धनकुटा खबर
  • .

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप क्रिकेटमा विजय हासिल गर्ने गरी उच्च मनोबलका साथ सहभागी हुने बताएका छन्।

विश्वकपमा सहभागी हुन नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै हाल अमेरिकामा रहेका रोहितले आइतबार सामाजिक सञ्जालमार्फत १० वर्षपछि दोस्रोपटक पाएको उक्त अवसरलाई सकेसम्म खेर जान नदिने प्रतिबद्धता जनाएका हुन्।

‘दस वर्षको पर्खाइपछि नेपाल राष्ट्रको सपना साकार पार्दै दोस्रोपटक टी–२० विश्वकप क्रिकेटमा सहभागी हुँदै छौँ। अमेरिका र वेस्ट इन्डिजमा हुने यस प्रतियोगितामा छनोट हुन र सुखद नतिजा ल्याउन निरन्तर हौसला प्रदान गर्नुहुने तपाईं सबै क्रिकेटप्रेमी दर्शक, कोच, क्यान तथा हामीलाई माया गर्नुहुने सबैजना हाम्रो प्रेरणाका स्रोत हुनुहुन्छ’, रोहितले लेखेका छन्, ‘राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव हाम्रो प्रयास हुनेछ। सधैँजस्तो यसपटक पनि तपाईंहरू सबैको निरन्तर माया र हौसलाको अपेक्षा गर्दछौँ।’

समूह ‘डी’मा रहेको नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दै छ।

नेपालले दोस्रो खेल जुन ११ मा अमेरिकाको फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ।

विश्वकपका लागि १५ सदस्यीय नेपाली टोली अहिले अमेरिकामा छ।

अमेरिकामा समूह चरणका दुई खेलपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्नेछ।

वेस्ट इन्डिजमा नेपालले समूह चरणका बाँकी दुई खेल खेल्नेछ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा दक्षिण अफ्रिकासँग जुन १४ र बंगलादेशसँग जुन १६ मा समूह चरणको अन्तिम खेल खेल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖