• Monday 26th of October 2026

नक्साल स्थित बालमन्दिर जग्गा प्रकरणमा पूर्वमहासचिव गणेशभक्त श्रेष्ठ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार श्रेष्ठलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।

अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो। संगठनलाई हानि-नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको उजुरी थियो। २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रूपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ।

नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक एक करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो।

यसरी जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध गत वैशाख २७ गते पुर्जी जारी भएको थियो। त्यसैमध्येका एक तत्कालीन महासचिव श्रेष्ठलाई पक्राउ गरिएको हो।

यसअघि जेठ २५ गते पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। सरकारी वकिलले बयान लिएपछि उनलाई छाडिएको छ।
त्यस्तै तत्कालीन अध्यक्ष रिता सिंह, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दिपकदास श्रेष्ठविरूद्ध पनि पुर्जी जारी भएको थियो।

बृहस्पति विद्या सदन तर्फका पदाधिकारीहरूविरूद्ध पनि प्रहरीले पक्राउ पुर्जी लिएको थियो। तत्कालीन अध्यक्ष चिरञ्जिवी तिवारी, प्रविणराज जोशी, मुरारीनिधि तिवारी, श्रद्धा संघाई, पुरूषोत्तम राज जोशी, अभिनव सिंघानिया, कीर्तिप्रसाद पाण्डे र सिद्धार्थ केडियाविरूद्ध अदालतबाट पुर्जी जारी भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖