• Monday 26th of October 2026

ओली प्रधानमन्त्री बन्न सक्नुहुन्न भनेर प्रचण्डलाई सुनाउने मान्छे पटमुर्ख होः वरिष्ठ अधिवक्ता बिडारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री बन्ने केपी शर्मा ओलीलाई कुनै बाधा नरहेको बताएका छन् ।

आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमाले मिलेर संविधानको धारा ७६ (२) बमोजिमको सरकार गठन गर्नका लागि राष्ट्रपति समक्ष निवेदन दिँदा राष्ट्रपतिले सोही बमोजिम आह्वान गर्न सक्ने उनले बताए । कांग्रेस र एमाले नमिलेको अवस्थामा मात्रै राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम सरकार गठनका लागि आह्वान गर्ने उनले बताए ।

‘संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरु मिलेर बन्ने सरकारमा केपी ओली प्रधानमन्त्री बन्ने हो । उहाँहरुले राष्ट्रपतिसमक्ष हामी दुई वा सोभन्दा बढी दल मिलेर सरकार बनाउँछौं भनेर निवेदन दिनुभयो भने राष्ट्रपतिले आह्वान गर्नुहुन्छ । राष्ट्रपतिले आह्वान गरेपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बन्नसक्छ । मिल्नुभएन भने राष्ट्रपतिले उपधारा ३ बमोजिम बनाउनुहुन्छ,’– उनले भने ।

नेता बिडारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अब संविधानको धरा ७६ (२) को सरकार बन्नसक्दैन भनेर सुनाउने मान्छे पटमुर्ख रहेको बताए । उनले एकचोटी प्रयोग भइसकेको धारा पुनः प्रयोगमा आउनसक्ने बताए । ‘संविधानको धारा ७६ को उपधारा २ एकचोटी एउटाले प्रयोग गरिसकेपछि अर्कोचोटी अर्कोले प्रयोग गर्न हुँदैन भन्ने ब्याख्या प्रधानमन्त्रीलाई जसले सुनायो त्यो पटमुर्ख हो,’– उनले भने ।

उपधारा २ बमोजिम जतिपटक पनि सरकार बन्नसक्ने उनको दाबी छ । बहुमत पुर्याउन सकेको खण्डमा प्रधानमन्त्री बन्न ओलीलाई कुनै बाधा नरहेको उनको दाबी छ । कांग्रेस–एमालेबीचको गठबन्धनलाई लिएर प्रधानमन्त्री प्रचण्डले कुनै विरोध नगरेको बताए । तर, ०४७ सालको संविधान मन पराउने दलहरु मिल्दा केही आशंका भने उब्जिएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖