काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजकीय पदबाट बहिर्गमन हुने सँघारमा पुगेका छन् । उनले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने योजना बनाइसकेका छन् ।
प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने दिशामा सहमति भएसँगै प्रचण्डले संसद फेस गरेर बहिर्गमनको बाटो रोजेका हुन् ।
कांग्रेस–एमाले गठबन्धनलाई राप्रपा, लोसपा, जसपा नेपाल लगायतले पनि समर्थन गर्ने सङ्केत देखिएको छ । कांग्रेस–एमाले गठबन्धनबाट पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भइसकेको छ । साना दलले पनि समर्थन गरेमा ओलीको पक्षमा दुई तिहाइभन्दा बढी अर्थात् २०७ मत पुग्ने देखिएको छ ।
यता प्रचण्डलाई अहिलेसम्म माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र एकीकृत समाजवादीको १० गरी कुल ६३ जना सांसदको मात्र समर्थन देखिएको छ । संसदमा एक÷एक सिट भएका राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र स्वतन्त्र सांसद अहिलेसम्म कतै खुलेका छैनन् ।
संसदीय अङ्कगणित प्रतिकूल हुँदाहुँदै पनि प्रचण्डले संसद फेस गर्ने अडान राखेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शुक्रबार सत्ता घटक दलहरूसँग छलफल गरी प्रचण्डले संसदबाट विश्वासको मत लिने जानकारी संसद सचिवालयलाई गराएका हुन् । तर पूर्वसहमति कार्यान्वयनमा कांग्रेस र एमालेले संस्थागत निर्णय गरिसकेकाले तत्काल अर्को राजनीतिक उथलपुथल हुने सम्भावना नरहेको जानकारहरू बताउँछन् ।
केन्द्रदेखि सातै प्रदेशमा माओवादी केन्द्रलाई धक्का
कांग्रेस–एमाले सत्ता सहकार्यले असार २८ मा प्रधानमन्त्री प्रचण्ड सत्ताच्युत हुने लगभग निश्चित छ । कहिले एमाले त कहिले कांग्रेससँग मिलेर डेढ वर्ष सत्ता टिकाएका प्रचण्डले एकैपटक केन्द्रदेखि सातै प्रदेशमा सत्ता गुमाउने भएका छन् ।
२०७९ पुस ११ गते तेस्रोपटक शक्तिशाली प्रधानमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका उनी कुनै उथलपुथल नभएमा अबको पाँच दिनमा राजकीय शक्ति गुमाएर बाहिरिने भएका हुन् ।
प्रधानमन्त्री भएको करिब १९ महिनामा प्रचण्डले पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि पहिलोपटक पुस २६ गते विश्वासको मत लिँदा प्रचण्डले संसदमा उपस्थित कुल सांसदमध्ये २७० जना अर्थात् ९९.२५ प्रतिशत मत पाएका थिए । त्यतिबेला प्रमुख प्रतिपक्ष दल कांग्रेससहित विपक्षी बेञ्चमा बसेका एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको समेत उनले समर्थन प्राप्त गरेका थिए ।
दोस्रोपटक चैत ६ गते विश्वासको मत लिँदा कुल उपस्थित सांसदमध्ये प्रचण्डले ६४.१८ प्रतिशत मत पाएका थिए । एमाले र राप्रपाले विपक्षमा मत दिएका थिए ।
२०८० फागुन ३० गते तेस्रोपटक संसदमा विश्वासको मत लिएका उनले संसदमा उपस्थित कुल सांसदमध्ये १५७ अर्थात् ५८.५८ प्रतिशत मत पाएका थिए । सरकारमा सहभागी दल जसपा नेपाल विभाजनपछि २०८१ जेठ ७ गते प्रचण्डले चौथोपटक विश्वासको मत पाएका थिए । कांग्रेसको बहिष्कारकाबिच विश्वासको मत लिएका उनको पक्षमा १५७ मत परेको थियो ।
२७५ सदस्यीय प्रतिनिधि सभामा देवराज घिमिरे र टोपबहादुर रायमाझीबाहेक २७३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन् । यदि संसदमा उपस्थित संख्या २७३ जना भएमा, प्रधानमन्त्रीको पक्षमा माओवादी, रास्वपा र एकीकृत समाजवादीका सबै सांसदले पक्षमा मतदान गरेको खण्डमा प्रचण्डले जम्मा २३ प्रतिशतमात्र मत पाउने छन् । यो स्थितिमा उनका लागि ठुलो राजनीतिक क्षति हुने देखिन्छ ।
